रावणको समर्थनमा मथुरामा स्तुतीगान

Lokjung Rokaya

News

मोदीको प्रश्नः हामीभित्रको रावणलाई कसले खत्तम गर्ने ?

२६ असोज, काठमाडौं ।  विजया दशमीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रावणलाई नष्ट गर्नुपर्ने बताइरहेका बेला यमुना नदीको नयाँ पुल नजिकै अवस्थित शिव मन्दिरमा एक घण्टासम्म लंकाका राजा रावणको स्तुतीगान भयो ।
नेपालमा पनि रावणलाई आशुरी शक्तिको प्रतीक मान्दै निन्दा गरिन्छ । भारतमा त प्रत्येक वर्ष रामलीलामा रावणको पुत्लासमेत जलाइन्छ । तर, त्यहाँ एउटा त्यस्तो हिन्दु सम्प्रदाय छ, जसले रावणको भक्तिगानमात्रै गर्ने गरेको छैन कि उनको उत्ला जलाउने कार्यको विरोधमा अभियानसमेत चलाउने उदघोष गरेको छ । भारतमा विजयादशमीका दिन यस्तै फरक दृश्य देखियो ।

भारतीय पत्रिकाका अनुसार लंकेश भजन मण्डलका सदस्यहरुले रावणप्रति सम्मानमात्रै प्रकट गरेनन्, उनीहरुले प्रत्येक वर्ष शिवका परमभक्त रावणको पुत्ला नजलाउन आग्रहसमेत गरे ।

लंकेश भक्तमण्डलका अध्यक्ष एवं वकिल ओमवीर सारस्वतले भने, मण्डलले अब मथुराका मानिसहरुमा मात्रै रावणको पुत्ला दहनविरुद्ध जागर अभियान चलाउँदैन, छिमेकी जिल्लामा पनि यो सन्देश प्रवाह गर्नेछ ।

रावणको राम्रो पक्षको जानकारी दिँदै सारस्वतले भने कि उनले आफ्ना भाइ एवं छोरो मारिएपछि पनि सीतासँग कुनै दुर्व्यवहार गरेनन् ।

उनले भने, सेतुबन्ध रावणले सेतुबन्ध रामेश्वरम् को निर्माण गर्नेक्रममा एक पूजारीको भूमिका निभाए, जबकि यसको प्रयोग गरेर रामले लंका आक्रमणका लागि गरे ।

सारस्वतले भने, यो अपमानजनकमात्रै छैन, बरु हरेक साल यस्ता आदर्श व्यक्तिको पुत्ला जलाउनु देशको संस्कृतिको विरुद्धमा छ ।

त्यसो त भारतको राजस्थानमा एउटा दवे गोडा जातिका कविलाहरुको बसोबास रहेको छ, उनहरु आफूलाई खूद रावणका सन्तान मान्छन् र अरुले विजयादशमी मनाइरहँदा उनीहरु रावणको मृत्युको शोक मनाउँछन् । उनीहरु आफूलाई पण्डितका सन्तान मान्छन् ।

रावणको पुत्ला दहन र रामलीला

यमुना तटमा रावणको स्तुतीगान भइरहँदा दिल्लीका विभिन्न सातवटा घाटमा दूर्गाको प्रतिमा विसर्जन गरिएको थियो । यसक्रममा विभिन्न ठाउँमा ट्राफिक जामसमेत भएको थियो । वातावरणप्रेमीहरुले यमुनाको तटमा दूर्गामाताको विसर्जन गर्नेक्रममा प्रदुषण बढ्ने गरेको भन्दै प्रदुषित सामाग्रीहरुको प्रयोग नगर्न जोड दिँदै आएका छन् ।

भारतीयहरुले नेपालीले जसरी दशैं नमनाए पनि दसहारा पर्वका रुपमा नवरात्री पूजा गरेर दशमीका दिन दूर्गाको प्रतिमा नदी किनारमा लगेर विसर्जन गर्ने गर्दछन् ।

सानो समूहले रावणको समर्थनमा भजन कीर्तन गरे पनि दिल्लीको लालकिल्लामा दशहराको अवसरमा रावणको विशाल पुत्ला बनाएर जलाइएको थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हामिद अन्सारी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस अध्यक्ष सोनिया गान्धी, केन्द्रीय मन्त्री हर्षवर्द्धनलगायतले रावण दहन समारोहमा भाग लिएका थिए ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि एक रामलीला कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति मुखर्जी पश्चिम बंगालको वीरभूममा दशहरा मनाएर दिल्ली फर्किएका थिए ।

मोदीको प्रश्नः हामीभित्रको रावणलाई कसले खत्तम गर्ने ?

एकातर्फ रावणको पक्षमा युमना तटमा भक्तिगान भइरहेका बेला भारतीय प्रधानजमन्त्री नरेन्द्र मोदीलेचाँहि लखनऊबाट रावणलाई  खत्तम गर्नुपर्ने बताउँदै थिए ।

प्रधानमन्त्री मोदीचाँहि लालकिल्लाको कार्यक्रममा सहभागी भएनन् । लखनऊमा दशहरा मनाउन पुगेका थिए । लखनऊमा भाषण गर्दै भारतीय प्रधानमन्त्री मोदीले आवश्यक परे युद्धसमेत आवश्यक भएको तर युद्धबाट बुद्धसम्म पुग्नुपर्ने बताए ।

मोदीले पाकिस्तानको नाम लिएनन्, तर उसलाई आतंकवादसँग जोड्दै रावणको संज्ञा दिने प्रयास गरे ।  उनले आतंकवादीहरुलाई रावणको संज्ञा दिँदै सीतालाई बचाउनुपर्ने बताए ।

मोदीले भने, ‘म देशबासीहरुसँग अलिकति प्रश्न सोध्न चाहन्छु कि एक सीतामातामाथि अत्याचार गर्ने रावणलाई त हामीले हरेक वर्ष जलाउने संकल्प गरेका छौं, किनभने उनले सीतालाई अपहरण गरेका थिए ।’ मोदीले प्रश्न गरे, ‘तर, के कहिल्यै हामीले सोचेका छौं कि जव पूरा विश्व आज बालिका दिवस मनाइरहेको छ, तब हामीले छोरा र छोरीमा भेद गरेर गर्भमा कति सीताहरुलाई मृत्युको घाटमा पुर्‍याइरहेका छौं ?’ हामीभित्रको यो रावणलाई कसले खत्तम गर्छ ?’

२०७३ असोज २६ गते

साभार : अनलाइनखबर