अनलाइनखबर
१६ कात्तिक, काठमाडौं । तिहारमा ओखर फोरेर दिदी(बहिनीले आफ्ना दाजु(भाइका बाधा फुकाइदिने साँस्कृतिक परम्परा छ । तर, त्यही बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा ५ करोड ९ लाख रुपैयाँभन्दा बढीको ओखर आयात भएको छ ।
केन्द्रका अनुसार गत वर्ष नेपालले भारत, चीन र फ्रान्ससँग १ लाख ७४ हजार १ सय ४५ किलो ओखर किनेको छ । भारतबाट मात्रै १ लाख ७३ हजार ५ सय ६० केजी आयात भएको छ । चीनबाट ५ सय ६० र फ्रान्सबाट २५ केजी ओखर आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।
‘वालनट, सेल’ शीर्षकमा विदेशबाट ओखरको आयात हुँदै आएको छ । नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ । कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ जमिनमा ओखर र बदाम खेती गर्न सकिन्छ ।
तर, यसको व्यावसायीक खेती हुन नसकेका कारण विदेशी ओखरको भर पर्नुपरेको हो । कृषिको आधुनिकिकरण र व्यावसायीकरण नभएका कारण नेपालले वर्षेनी खर्बौं रकम बराबरका कृषि उत्पादन आयात गर्दै आएको छ ।
ओखर, बदाम, काजु, भाइमसला मात्रै होइन, नेपालले तिहारका लागि चाहिने फूलसमेत विदेशबाटै आयात गर्दै आएको छ ।

