काँग्रेसमा टिकट नपाउँदा तीव्र असन्तुष्टि
Prawash Kumar ShakyaNews
सुर्खेतः जिल्लाका प्रमुख दुई दल कांग्रेस र एमालेभित्र उम्मेदवार छनोटमा असन्तुष्टि बढेको छ । तीव्र विवाद भएपछि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा ताला लागेको छ । नेतृत्वले एकलौटी उम्मेदवार छनोट गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् । एमाले कार्यकर्ताले भने सामाजिक सञ्जाल फेसबुकमा तीव्र असन्तुष्टि पोखेका छन् ।
उम्मेदवार छनोटमा देखिएको विवादले यतिबेला कांग्रेस नेता सकसमा छन् । नगरपालिका, गाउँपालिकादेखि वडासम्मका सबै पदमा उम्मेदवारका आकांक्षी धेरै भएपछि नेतालाई उम्मेदवार टुंग्याउन हम्मेहम्मे भएको हो । निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसभित्र उम्मेदवार छनोटमा देखिएको विवाद छताछुल्ल भएको हो ।
उम्मेदवार छनोटकै विषयलाई लिएर बुधबार साँझ पार्टी कार्यालयमा लगाइएको ताला अझै खुल्न सकेको छैन । कांगे्रस जिल्ला नेतृत्वले भने सहमतिमै उम्मेदवार टुंगो लगाइएको दाबी गर्दै केही व्यक्तिले लगाएको ताला चाँडै खुल्ने जनाएको छ ।
उम्मेदवार छनोटमा एकलौटी निर्णय गरिएको र जनमतको कदर नगरिएको भन्दै वीरेन्द्रनगर नगरपालिका ६ का कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् । वडा नं ६ का दुईतिहाइ कार्यकर्ताको माग उपेन्द्र खड्कालाई वडाअध्यक्षको उम्मेदवार बनाउनुपर्ने भए पनि क्षेत्रीय समितिले सुनुवाइ नगरी अर्कै व्यक्तिलाई उम्मेदवार बनाएको बताइएको छ । क्षेत्रीय समितिले वडा नं ६ को अध्यक्षमा मोतीप्रसाद कँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसको विरोधमा असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नं ६ का सक्रिय सदस्य तुलसीदास बीसीले क्षेत्रीय समितिले गरेको निर्णय तुरुन्त सच्याउनुपर्ने माग गर्नुभयो । निर्णय नसच्याउँदासम्म कार्यालयमा तालाबन्दी जारी रहने उहाँको भनाइ छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसभित्र उम्मेदवार छनोटमा देखिएको विवाद छताछुल्ल भएको हो ।
कार्यकर्ताको भावना नबुझेर उम्मेदवार बनाउँदा पार्टीले पराजय बेहोर्नुपर्ने भन्दै बीसीले बहुमत कार्यकर्ताको माग सम्बोधन गर्न नेतृत्वसँग आग्रह गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकाको वडा नं ६ मा मात्र होइन, वडा नं १ र ५ का साथै लेकबेसी नगरपालिकाको उम्मेदवार छनोटमा समेत कांग्रेसभित्र चरम विवाद सिर्जना भएको छ । क्षेत्रीय समितिले लेकबेसीको मेयरमा उमेश पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । तर उक्त निर्णयको विरोध गर्दै असन्तुष्ट पक्षले असहयोग गर्ने गर्ने घोषणा गरेका छन् ।
कांग्रेस कार्यकर्ता कर्ण रानाले आफूहरूको सहमतिबिनै एकलौटी रूपले उम्मेदवार छनोट गरिएको भन्दै आपत्ति जनाउनुभयो । जनतामाझ लोकप्रिय टोपबहादुर टंलामीलाई मेयरको उम्मेदवार बनाइनुपर्ने आफूहरूको मागलाई नेतृत्वले बेवास्ता गरेको उहाँको आरोप छ । रानाले तत्काल निर्णय सच्याएर कार्यकर्ताको चाहनालाई दृष्टिगत गरी उम्मेवार छनोट गर्न माग गर्नुभयो ।
वीरेन्द्रनगरको वडा नं ५ मा पनि वडा कमिटीले सिफारिस गरेका चारजनालाई बाहिर राखेर अन्य व्यक्तिलाई वडाअध्यक्षको उम्मेदवार बनाइएको भन्दै विरोध गरिएको छ । वडाअध्यक्षका आकांक्षी ललित भट्टराईसहितका नेता-कार्यकर्ताले उक्त निर्णय तत्काल सच्याउन माग गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि पनि सहमति जुट्न नसकेपछि औपचारिक घोषणा हुन सकेको छैन । यद्यपि नेतृत्वले नगर सभापति देवकुमार सुवेदीलाई मेयर र महिला संघकी केन्द्रीय कोषाध्यक्ष जानकी सिंहलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वीरेन्द्रनगरमा मात्र होइन, जिल्लाका अधिकांश स्थानमा उम्मेदवार छनोटमा विवाद देखिएपछि कांग्रेसका नेता-कार्यकर्तामा यतिबेला निर्वाचनमा पराजय बेहोर्नुपर्ने चिन्ता छाएको छ । यता कांगे्रस नेतृत्वले भने सहमतिमै उम्मेदवारको टुंगो लगाइएको जनाएको छ । ‘हामीले सहमतिमै उम्मेदवार छनोट गरेका छौं, कुनै विवाद छैन । पार्टीभित्र सबैको मन बुझाउन सकिँदैन, सबै व्यक्तिका माग पूरा गर्न सक्ने अवस्था पनि छैन’, कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले भन्नुभयो । केही व्यक्तिले पार्टी कार्यालयमा ताला लगाएको भन्दै उहाँले चाँडै ताला खुल्ने जानकारी दिनुभयो । टिकटकै विषयमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।
साभारः अन्नपूर्णपोष्ट