चार महानगरमा कांग्रेस-माओवादी तालमेल
Prawash Kumar ShakyaNews
सत्तारुढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रले देशका चार महानगरमा चुनावी तालमेल गर्ने भएका छन्।काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा माओवादीले कांग्रेसलाई र भरतपुरमा कांग्रेसले माओवादीलाई सहयोग गर्ने सहमति भएको हो। सहमतिअनुसार भरतपुर महानगरपालिकाको मेयर निम्ति कांग्रेसका दिनेश कोइरालाले उम्मेदवारी फिर्ता लिएर माओवादीकी रेणु दाहाललाई सहयोग गर्ने भएका छन्।
रेणु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। चितवन कांग्रेसले भने माओवादीसँग चुनावी सहकार्य गर्ने सहमतिको विरोध गरेको छ। केन्द्रमा भएको सहमतिलगत्तै स्थानीय स्तरका कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका छन्। उनीहरूले पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध नाराबाजीसमेत गरेका छन्। दुई सत्तारुढ दलमा आपसी चुनावी सहकार्य गर्न कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रामशरण महत तथा माओवादीका कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदल बनेको थियो।
त्यही कार्यदलको सिफारिसका आधारमा यी चार महानगरमा चुनावी तालमेलको सहमति भएको कार्कीले बताए। सहमतिअनुसार पोखरामा माओवादी केन्द्रका मेयर उम्मेदवार विश्वमणि लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। उनको ठाउँमा माओवादीले कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवरलाई सहयोग गर्नेछन्। काठमाडौं र ललितपुरमा पनि माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने बचन दिएको छ। ललितपुरमा त तालमेलको कुरा मिलेन भन्ने हल्ला छ नि भनी सोधिएको प्रश्नमा कार्कीले सेतोपाटीसँग भने, ‘जेसुकै हल्ला आए पनि तालमेल भएकै हो, ललितपुरमा पनि उहाँहरुले (माओवादी) हामीलाई सहयोग गर्नु हुनेछ।’
साभारः सेतोपाटअनलाइन