सुर्खेत, ९ असार । बहुउद्देश्यीय पानी प्रणाली तथा प्राविधिकका लागि जिल्ला स्तरीय परामर्श गोष्ठी शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । यूएसएआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित पहल परियोजना अन्र्तगत उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेलले कार्यक्रमको उद्देश्यको साथै संस्थाको परिचयका बारेमा सहभागीहरुलाई जानकारी गराए । पहल कार्यक्रमका संयोजक सौरभ कर्मचार्यले पहल परियोजना अन्र्तगत स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बैकल्पिक जीविकोपार्जन, कृषि तथा बित्तियका सहित खाद्यलगायतका समग्र कार्यक्रमलाई समेटेको बताए ।
बहुउद्देश्यीय पानी प्रणाली तथा प्राविधिक परियोजनाका सिंचाई प्राविधिक उमेश कँडेलले परियोजनाले खानेपानी तथा सिंचाईको व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । परियोजना अन्र्तगत खानेपानी मात्र नभई साना सिचाईका कार्यक्रमहरु संचालन गरिएको बताए । त्यसैगरी खानेपानी मुहान संरक्षण, प्लाष्टिक पोखरी निर्माण, सोलार लिफ्ट सिचाईलगायतका कार्यक्रम सञ्चालन भएको बताए । कार्यक्रमबाट दुईवटा खानेपानीको आयोजना, लेखपराजुलमा सोलार लिफ्ट सिंचाई, रजेना र नेटामा दुईवटा प्लाष्टिक पोखरी निर्माणका साथै साना सिंचाई सम्बन्धि तालिमहरु संचालन गर्दै आएको बताए ।
बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठका अनुशार, लेखपराजुल, धारापानी, काफलकोट, नेटा, रजेना र रानीवासमा परियोजना सञ्चालन हुनुका साथै यस परियोजनाले सन् २०१९ सम्ममा कार्य गरि कुल ४५५९ घरधुरीलाई लावान्वित गर्न कार्यक्रम रहेको छ । कार्यक्रममा जिल्ला विकास समितिका टंकप्रसाद लामिछानेले कार्यक्रम खानेपानी र सिचाईको क्षेत्रमा उपलब्धीमुलक काम गरेको बताए । खानेपानीका स्रोतहरु कम भएको ठाउँमा यो कार्यक्रम प्रभावकारी देखिएको लामिछानेले बताए । कार्यक्रममा विभिन्न संघ संस्था तथा सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

