कुलमानलाई सरकारको असहयोग !

Prawash Kumar Shakya

News

२० असार । काठमाडौं । सरकारले नै असहयोग गरेपछि बिजुली खपत गर्ने र ऊर्जा दक्षता बढाउने एलईडी चिम ल्याउने योजना अलपत्र परेको छ । सरकारले असहयोग गरेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट २ करोड थान एलईडी चिम नल्याउने मनस्थिति बनाएको छ ।

विद्युत प्राधिकरणले सस्तो मूल्यमा भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएससी) बाट बल्ब खरिद गर्न लागेको थियो । यसका लागि विद्युत प्राधिकरण र भारतको ईईएससीबाट एलईडी चिम खरिद गर्ने विषयमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर समेत भएको छ ।

२ करोड थान एलईडी चिम जडान भएपछि बिजुली खपत १५० मेगावाट कम हुने अनुमानका आधारमा आउँदो हिउँदलाई लक्षित गरी विद्युत प्राधिकरणले चिम ल्याउन लागेको हो । चिम ल्याउन सकारात्मक भन्दा बढी नकरात्मक चासो र विभिन्न निकायले बोलाएर सोधपुछ गरेर हैरान पारेपछि आफुले यस विषयमा चासो राख्न छाडेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले निराश हुँदै भने, “यहाँ राम्रो काम गर्न खोज्दा चारैतिरबाट असहयोग भयो, त्यसैले यस विषयमा मैले चासो राख्न छाडिसकेँ ।” आउँदो सुख्खायाममा बिजुली खपत घटाई दक्षता बढाउन सहुलियत दरमा २ करोड थान एलईडी चिम आपूर्ति गर्ने योजना तयार गरिएको भए पनि सबैतिरबाट असहयोग रहेको उनको भनाई छ ।

मन्त्रिपरिषदले ईईएससीसँग भएको एमओयु पारित नगरी नियमानुसार गर्न भनेपछि यसको प्रक्रिया अघि बढाउन समस्या भएको हो । मन्त्रिपरिषदले एमओयु पारित गरेको भए खरिद प्रक्रिया अघि बढाउन प्राधिकरणलाई सहज हुने उनले बताए ।

यता एलईडी चिम खरिदमा मुख्य सचिव डा. सोमलाल सुवेदीले तगारो हालेपछि समस्या आएको हो । मुख्यसचिव सुवेदीले मन्त्रिपरिषदबाट एमओयु पारित गर्न नदिएपछि प्राधिकरणलाई प्रक्रिया अघि बढाउन थप समस्या देखिएको प्राधिकरण स्रोतले जानकारी दियो ।

एलईडी खरिद रोक्नका लागि परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिनु नपर्ने भने पनि प्राधिकरणले अब खरिद प्रक्रिया अघि नबढाउने मनस्थिति बनाएको छ ।

ईईएससीबाट सरकारले १०४ रुपैयाँ नेपाली रुपैयाँ (६५भारु) मा फिलिप्स र ओसराम ब्राण्डको एलईडी चिम ल्याउन लागेको हो । नेपाली बजारमा आइपुग्दा मूल्य अभिवृद्धि कर (भ्याट), अन्य कर र सेवा शुल्क गरी ९ वाट क्षमताको चिमको मूल्य बढीमा प्रतिगोटा १४० रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जबकी बजारमा यसको मूल्य प्रतिगोटा साढे ३ सय रुपैयाँसम्म पर्छ । प्राधिकरणले गत जेठमै एलईडी चिम आयात गर्ने लक्ष्य लिएको थियो ।

बल्ब ३ वर्षको वारेन्टी हुनेछ । काठमाडौँमा भएको नेपाल–भारत सचिव स्तरिय संयुक्त स्थायी समिति (जेसीडब्ल्यूआर) बैठकमा भएको सहमति बमोजिम एलईडी बल्ब खरिदको काम अघि बढेको हो  ।

साभारः बाह्रखरीअनलाइन