तरकारी संकलन केन्द्रको उद्घाटन

Milan Shrestha

News

सबिता जि.सी.
सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर २ को सत्तरीमा निर्माण गरिएको केराघारी तरकारी संकलन केन्द्रको आइतबार उद्घाटन गरिएको छ । भेरीगंगा नगरपालिकाका वडा नम्बर १, २ र ३ का कृषकहरुलाई लक्षित गरी निर्माण गरीएको केराघारी संकलन केन्द्रको मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन तथा सेवा शुभारम्भ गरिएको हो ।

हप्ताको सातै दिन सञ्चालन हुने गरि तरकारी संकलन केन्द्र सुरु गरिएको हो । विशेष गरेर उक्त क्षेत्रमा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारीको प्रवद्र्धन र किसानहरुलाई व्यवासायीक खेती तर्फ अझै आकर्षित बनाई उनीहरुको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्यले उक्त केन्द्र संचालन गरिएको हो ।

संकलन केन्द्रको उद्धघाटन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले सत्तरीमा निर्माण भएको उक्त तरकारी संकलन केन्द्रले कृषकहरुको श्रमको उचित मुल्य प्राप्त हुने बताएकि छन् ।
उनले संकलन केन्द्रले कृषकहरुलाई व्यावसायीकतामा आकर्षित गर्ने भन्दै भेरीगंगागा १ र २ नम्बर वडालाई कृषि र पशुको पकेट क्षेत्र घोषणा गर्नका लागि भेरीगंगा नगरपालिका कार्ययोजना बनाएर लाग्ने प्रतिवद्धता समेत जनाएकि छन् ।
उपप्रमुख आचार्यले भेरीगंगामा कृषिको उच्च सम्भावना भए पनि सिचाईको समस्या भएकाले कृषि उत्पादनमा अफ्ठयारो हुने गरेको भन्दै सिचाईको पर्याप्तताका लागि नगरपालिकाले योजना बनाएर लाग्नेमा जोड दिएकि छन् ।

उद्धघाटन कार्याक्रममा भेरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कि, २ का वडा अध्यक्ष नन्दबहादुर बुढा र ३ का वडा अध्यक्ष जीतबहादुर सुनारले संकलन केन्द्रको सुरुवात गर्ने मात्रै नभई संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।
उनीहरुले भौगोलिक विकटता र गरिबिबाट पछाडि परेको भेरीगंगा नगरपालिकाका १, २ र ३ वडाहरुलाई व्यावसायीक कृषिबाट आर्थिक  रुपमा समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

संकलन केन्द्र सञ्चालन भए संगै भेरीगंगाका लेखपराजुल लगायत भेरीगंगा १, २ र ३ का किसानहरुलाइ तरकारी बिक्री गर्न सजिलो हुने भएको छ । सत्तरीमा ३ लाख ७९ हजार ५ सय २५ रुपैया लागतमा तरकारी संकलन केन्द्र सञ्चालनमा आएको हो । जसमध्य २ लाख २० हजार रुपैयाँ पहल परियोजनाको, १ लाख रुपैयाँ अनुकुलन परियोजनाको र ५८ हजार ७ सय २८ रुपैयाँ बराबरको जनश्रमदान रहेको छ ।