नामावली संकलन टोली स्थानीय तहमा

Prawash Kumar Shakya

News

सुर्खेत, १७ साउन । सुर्खेतमा फोटोसहित मतदाता नामावली संकलनका लागि सोमबारदेखि टोली स्थानीय तहमै परिचालन गरिएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय सुर्खेतले ९ वटा स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न टोली परिचालन गरेको हो ।

साउन १ गतेदेखि जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयमा नामावली संकलन थालेको आयोगले राजनीतिक दलका प्रतिनीधिहरुको आग्रह पछि स्थानीय तहमा कर्मचारी खटाएको हो । निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाका अनुसार जिल्लाका ९ वटा तहमा साउन ३२ गतेसम्म नामावली संकलन गरिने छ ।

सम्वन्धित गाउपालिका वा नगरपालिकाको कार्यालयमा नामावली सोमबारदेखि थालिएको छ । यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरिरहेका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली परिचयपत्र अनिवार्य गरेको थियो । संविधानअनुसार माघ ७ भित्र बाँकी ३ वटा  निर्वाचन गर्नुपर्ने व्यवस्था बमोजिम २०७४ असोज अन्तिम साता प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो साता राष्ट्रियसभा निर्वाचन र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गराइसक्नुपर्ने छ ।

साभारः काक्रेविहार दैनिक अनलाइन