मेरो नाम अख्तियारसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता छैन : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पारेका छन्।

मंगलबार रासससंग कुरा गर्दै उनले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरे।

ऊर्जा मन्त्री शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै कार्यकारी निर्देशक घिसिङले विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तीब्रता दिने कार्य निरन्तर जारी रहेको बताए।

प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनःसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउनेलगायतका काम ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको उनले प्रष्ट पारे ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘ऊर्जा मन्त्री, ऊर्जा सचिवलगायत ऊर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण समूह एकढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको व्यहोरासमेत जानकारी गराउँछु ।’

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि उनले अनुरोधसमेत गरेका छन्।

साभारः अन्नपूर्णपोष्टअनलाइन

प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     11:20:59 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *