अब प्रदेशकै संरचनामा इम्बोस्ड प्लेट , अञ्चलको नाम हटाउन तत्काल वितरण स्थगित
Prawash Kumar ShakyaNews
२१ भदौ, काठमाडौं । सरकारले प्रदेशकै संरचनाअनुसार इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ । अहिले अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण पनि रोकिने भएको छ ।
बुधबार बसेको विकास समिति बैठकमा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी थाल्ने बताएका हुन् । उनले अहिले अञ्चलको नाम उल्लेख भएको स्थानमा प्रदेश राख्न प्राविधिक तयारी थाल्ने र त्यतिञ्जेल प्लेटको छपाइ रोक्ने जानकारी दिएका छन् ।
बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै यातायात ब्यवस्था विभागमा महानिर्देशक रुपनारायण भट्टराईले ठेकेदार कम्पनीसँग छलफल गरेर अञ्चलको सट्टामा प्रदेश नम्बर उल्लेख गर्ने बताए ।
‘प्रदेशको नाम नटुंगेसम्म प्रदेशको पहिचान नम्बर राख्ने गरी हामीले तयारी थालेका छौं । त्यसलै अब तत्काल अञ्चलको नाम राखेर इम्बोस्ड वितरण हुँदैन’ भट्टराईले भने ।
त्यसका लागि आवश्यक ब्यवस्था र प्रविधिहरु परिमार्जनका लागि छलफल अघि बढाइने भट्टराईले बताए ।
अब यसका लागि मन्त्रालयले उच्च स्तरको प्राविधिक समिति बनाउनेछ । त्यसको सुझावअनुसार इम्बोस्डमा गर्नुपर्ने परिमार्जनमा छलफल हुनेछ ।
सरकारले दुईसाता अघि मात्रै इम्बोस्ड प्लेटको वितरण थालेको थियो । सरकारीलाई अनिवार्य गर्दै बाग्मति अञ्चलबाट निजीलाई स्वेच्छिक रुपमा लिन सक्ने ब्यवस्था गरेको थियो ।
अहिले विभागका १२ वटा सवारीमा इम्बोस्ड जोडिसकिएको छ भने थुप्रै निजी सवारीले पनि इम्बोस्ड प्लेटका लागि आवेदन दिएका छन् ।
सरकारले देश संघीयतामा गएपनि अञ्चलको संरचनाअनुसार प्लेट वितरण थालिएपछि त्यसको आलोचना भएको थियो । यसले आम नागरिकलाई दोहोर आर्थिक भार पर्ने अवस्था आएको थियो ।
केही समयपछि प्रदेश सरकारलेकाम थालेपछि अञ्चलको नाम प्लेट बाट हटाउने निर्णय हुने भएकाले उपभोक्तालाई आथिर्क भार थोपरिने अवस्था अब हट्ने भएको छ ।
साभारः अनलाइनखबर