असोज २२, २०७४ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको एउटै शक्तिशाली पार्टी बनाएर मुलुकको नेतृत्व लिने बताएका छन्। आइतबार दिउँसो नेकपा मालेकी सांसद कल्सा महरालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले निर्वाचन नजिकिदै जाँदा ध्रुवीकरणले झन् तिब्रता लिएको भन्दै अब वामपन्थी र कम्युनिष्टको शक्तिशाली पार्टीले मुलुकको नेतृत्व गर्ने बताएका हुन्। ‘विचार राजनीति र मुद्दा मिल्ने पार्टीहरु ध्रुवीकरण भइरहेका छन्। वामपन्थी कम्युनिष्ट र प्रगतिशील शक्तिहरुको एउटै शक्तिशाली पार्टी बनाउने, देशको राजनीतिक नेतृत्व लिने र जनचाहना अनुसार सामाजिक र आर्थिक विकास गर्ने प्रक्रिया अघि बढेको छ’ उनले भने।
एमाले र माओवादीबीच एकताका लागि गठित कार्यदलले अहिले तिब्र रुपमा काम गरिरहेको पनि प्रचण्डले बताए। अहिले मुलुकमा चलिरहेको राजनीतिक ध्रुवीकरण र एकता प्रक्रियाले मुलुकलाई स्थिरतातर्फ लैजाने पनि उनको भनाइ छ। ‘राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक न्युनतम संख्या पुर्याउनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। त्यसले पनि ध्रुवीकरण बढाएको छ’ प्रचण्डले भने, ‘देशमा धेरै पार्टी हुनुभन्दा केही निश्चित पार्टी भएर जाँदा राजनीतिक स्थिरता र आर्थिक विकासका निम्ति वातावरण बन्छ भन्ने संविधानको आँकलन छ।’ अहिले मुलुक माओवादीको एजेण्डामा अघि बढेको भन्दै उनले माओवादीको पक्षमा पनि जनलहर देखिएको दावी गरे। स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा पार्टीले पाएको मतबाट उत्साहित प्रचण्डले अहिले स्थानीय तहको चुनाव हुने हो भने आफ्नो पार्टी पहिलो हुने जिकिर गरे। नेकपा माओवादी प्रवेश गरेकी सांसद कल्सा महराले आफू माओवादीमा आउनु समयको माग भएको बताइन्।

