सुर्खेत कारागारमा भवन अभावका कारण पालमा सुत्छन् कैदी

असोज , २९ सुर्खेत
भवन अभावमा सुर्खेत कारागारका कैदी÷बन्दीहरु पालमुनि सुत्नुपर्ने बाध्यता छ । २५ जना क्षमताको कारागारमा एक सय ९० जना कैदी÷बन्दी छन् । ठाउँ अभावमा चार पर्खालभित्रको खुला ठाउँमा पाल टाँगेर सुताउनुपर्ने बाध्यता रहेको कारागार शाखा सुर्खेतले जनाएको छ ।
२०३३ सालमा बनेको कारागारमा तीन बालबालिका, १९ महिलासहित एक सय ९० जना कैदी÷बन्दी छन् । कैदी÷बन्दीहरु दिनदिनै थपिनेक्रम जारी छ । ‘२५ जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ९५ जना छन्’ जिल्ला कारागार शाखा सुर्खेतका जेलर लालबहादुर खत्रीले भने, ‘कोठाभित्र सुत्ने ठाउँ नहुँदा पाल टाँगेर खुला ठाउँमा कैदी÷बन्दीलाई सुताउने गरेका छौं ।’
कारागारका नाइके सम्भु रोकायले भवन अभावमा चार पर्खालभित्रको खुला ठाउँमा पाल टाँगेर सुत्ने गरेको बताए । ‘बाह्रै महिना पाल टाँगेर सुत्ने गरेका छौं, यसले विभिन्न समस्याहरु देखापर्ने गरेका छन्’ उनले भने, ‘बाहिर सुत्ने धेरैजसो साथीहरुमा कुनै न कुनै स्वास्थ्य समस्या देखिने गरेको छ ।’ उनले धेरै कैदी÷बन्दी हुँदा सुत्ने ठाउँ मात्रै होइन्, शौचालय, पानीलगायतको पनि समस्या हुने गरेको बताए ।
‘पुरुष कारागारमा जम्मा तीन वटा मात्रै शौचालय छ, पालो पाउन पनि दुई–तीन घण्टा लाइनमा लाग्नुपर्छ’ उनले भने, ‘एक सय ७३ जनाका लागि तीन शौचालय थोरै हो ।’ उनले शौचालय बनाइदिन कारागार प्रशासनसँग बारम्वार अनुरोध गरेपनि सुनुवाई नभएको बताए ।
कारागार भवन बन्न लागेको आठ वर्ष पूरा भयो । २०६६ सालमा काठमाडौंको जेबी कन्स्ट्रक्सन कम्पनीले सोही वर्षको चैतसम्म भवन निर्माणको काम सक्ने गरी ठेक्का लिएको थियो । छ महिना काम गरेर कम्पनी भागेपछि भवन अधुरै रह्यो । भवन निर्माण सम्पन्न गर्न डिभिजन सडक कार्यालयले पनि पटक–पटक ताकेता नगरेको होइन् । कम्पनी सम्पर्कमै आउँदैन् । भवन अभावमा कैदी–बन्दीलाई सुत्ने स्थानको मात्रै होइन् शौचालयको पनि उस्तै समस्या छ ।
केही दिनअघि कारागारको निरीक्षण गरेर फर्केको राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जले सुर्खेत कारागारका कैदी÷बन्दीले कष्टकर जीवन विताइरहेको पाइएको बताएको थियो । क्षमताभन्दाबढी कैदी÷बन्दी हुनुका साथै उनीहरुको न्यूनतम् मानव अधिकारको पनि राज्यले सम्मान नगरेको आयोगको निष्कर्ष छ ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     10:34:28 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *