पूर्व राष्ट्रपति यादबलाई घर खाली गर्न सूचना
Prawash Kumar ShakyaNews
२० कार्तिक । पूर्व राष्ट्रपति डा.रामवरण यादब बस्दै आएको घरको भाडा सरकारले नुबझाएपछि मालिकले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। ललितपुर महानगरपालिका वडा नं. ४ बागडोलस्थित रविभक्त विष्टको भाडाको घरमा पूर्व राष्ट्रपति यादब बस्दै आएका छन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछि सरकारले उनलाई सुविधास्वरुप २०७२ कार्तिक १२ मा भाडाको घर उपलब्ध गराएको थियो। गत साउनदेखि घरको भाडा नपाएको विष्टले उल्लेख गरेका छन्।
‘२०७४ साउन १ गतेदेखि राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिबाट मेरो घरको घर बहाल सम्झौता नवीकरण नगरी बहाल रकम तथा बिजुलीको बिल समेत भुक्तान नगरी जबरजस्ती रुपमा बस्ने, बसाउने कार्य भइरहेको’, विष्टद्वारा जारी सूचनामा उल्लेख छ। घर बहाल सम्झौता नगरी जबरजस्ती बसेको भन्दै विष्टले सोमबार पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेका हुन्।
राष्ट्रपति कार्यालय तथा पूर्व राष्ट्रपतिलाई पटक-पटक लिखित सूचना जारी गर्दा समेत घरखाली नगरेको विष्टले उल्लेख गरेका छन्।
सोमबार नागरिक दैनिकमा प्रकाशित सूचना
साभारः नागरिक अनलाइन