गजल

News Desk

Literature

                       ऋचा लुइटेल

रगतमा चिनी देखिन्छ पिसाबमा रगत देखिन्छ
मुटु धमनी जँचाएर हेर्नू क्षत बिक्षत देखिन्छ

 

हड्डी खिएको हुन्छ नशा च्यापिएको हुन्छ
सन्चो कहिल्यै हुन्न शरिरमा पीडा हद देखिन्छ

 

तल्लो पेट दुखिरहन्छ माथ्लो डम्म फुलिरहन्छ
कँहि गाँठा गुठी देखिन्छ कँहि खत देखिन्छ

 

जिन्दगीको प्रयोगशालामा जिन्दगी नापेर हेर्नुस्
अस्पताल पिच्छे डाक्टरको मत अभिमत देखिन्छ

 

ढुङ्गा माटो खाएपनि पचाउने जमाना गएछ
अचेल पिउने पानी र हावा पनि गलत देखिन्छ

 

मेरा ब्यथाहरुको बयान मेरो बोलीले नगर्न सक्छ
अनुहार पढेर हेर्नू सबथोक सत सत देखिन्छ