हुम्ला पुर्याउनु पर्ने नुन जुम्लामा अलपत्र

अविरल ढकाल, जुम्ला
माघ ७,
भौगोलिक विकटताको कारणले सडक सञ्जालले नछोएको कर्णालीको हिमाली जिल्ला हुम्लाको साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको अनुदानको नुन जुम्लामा गत असार देखि अलपत्र अवस्थामा रहेको छ । निर कार्गो सर्भिसले ढुवानीको लागि  क्षेत्रीय साल्ट ट्रेडिङ्ग कार्यालय नेपालगञ्जबाट ४ हजार कोटाको अनुदानको नुन हुम्ला सम्म पुर्‍याउने जेठ महिना बाट हुम्लाको लागि नेपालगञ्ज बाट जुम्ला सम्म सडक मार्ग मार्फत ढुवानी गर्ने र जुम्ला बाट हुम्ला सम्म हवाई जहाज प्रयोग गरि ढुवानी गर्ने जिम्मा लिएको थियो ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको अनुदानको नुनको हुम्लामा ४ हजार कोटा भए पनि निर कार्गो सर्भिसले करिब २ हजार कोटा ढुवानी गरेको गरेको थियो । नेपालगञ्ज बाट जुम्ला सम्म ट्रक मार्फत ६ हजार कोटा नुन गत असार महिनामा नै पुर्‍याई सकेको थियो । जुम्ला बाट हुम्ला सम्म नेपाली सेनाको जहाज बाट ढुवानी गर्ने गरेको थियो तर नेपाली सेनाको जहाज गत असार महिनामा बजुरा जिल्लामा दुर्घटनामा परे पछि कार्गोले अनुदानको नुन ढुवानी गर्न सकेको छैन ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड उपशाखा जुम्लाका लेखा प्रमुख खगेन्द्रबहादुर मल्लले भने नेपाली सेनाको जहाज दुर्घटनामा भएपछि अहिले सम्म पनि ढुवानी गर्ने ठेकेदार सर्म्पकमा नआए पछि हुम्लाको नुन जुम्लामा अलपत्र परेको हो । उनले भने अब यो अनुदानको अनु सवै खेर गइसकेको छ । खान योग्यको छैन । आयोडिन युक्त नुन उता हुम्लेली जनताले खान नपाएको अवस्था छ भने यता हुम्लाको अनुदानको नुन जुम्लामा खान नमिल्ने भएको लेखा प्रमुख खगेन्द्र बहादुर मल्लले बताए ।

वर्षायामको पानी, घाम र हिउँद महिनामा जुम्लामा पर्ने तुसारोले नुनको बोरा र प्लाष्टिक गलाइ सकेको छ । नुन पनि जमेर ढुंगा जस्तो साह्रो भईसकेको छ । ७ महिना देखि खुल्ला आकाश मुनि चौरमा राखिएको अनुदानको हुम्लाको नुनको समय अवधि पनि सकिएको छ । नुनको बोरामा नै नुन जमेको र नुनका पोकाहरु पनि अधिकाँस घामले खाइसकेको छ ।

नुन अहिले जुम्ला विमान स्थलको मैदान र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड कार्यालय जुम्लाको खुल्ला चौरमा राखिएको छ । नेपालगञ्ज क्षेत्रीय साल्ट ट्रेडिङ्ग कार्यालयले बारम्वार निर कार्गो सर्भिसलाई नुन फिर्ता गर्न आग्रह गरे पनि ठेकेदार सर्म्पकमा नआएको साल्ट ट्रेडिङ्ग क्षेत्रिय कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनोजकुमार चौधरीले बताए ।

यदि नुनको समय अवधी नसकिएको भए क्षेत्रिय साल्ट ट्रेडिङ्ग कार्यालय नेपालगञ्जले फिर्ता लिने र समय अवधी सकिएको खण्डमा ठेकेदारले नै नुनको क्षतिपूर्ति तिर्नु पर्ने कार्यालय प्रमुख चौधरीले भने, कार्गो सर्भिसले अनुदानको नुनको सवै रकम चुक्ता गरि सकेकोले खेर गएको अनुदानको नुन साल्ट ट्रेडिङ्गको नभएर जिम्मा लिने कार्गो सर्भिसको नै भएको बताए ।

हुम्लामा नुनको अभाव भएको खण्डमा ठेक्का लिने कार्गो सर्भिसले जहाँ बाट भए पनि खेर भएको नुनको कोटा पूर्ति गर्नु पर्ने क्षेत्रिय साल्ट ट्रेडिङ्ग कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनोज कुमार चौधरीले बताए । ४ हजार कोटाको नुनमा २ हजार कोटा बढी नुन लिएरर पनि हुम्लामा समयमा नै नुन पुर्‍याउन नसक्नु सर्भिसको ठुलो लापरपाही भएको कार्यालय प्रमुख चौधरीले भने ।

प्रकाशित मितिः आइतवार, माघ ७, २०७४     2:40:06 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *