अनुदानको चामल मदिरा बनाउन प्रयोग
Prawash Kumar ShakyaNews
अविरल ढकाल, जुम्ला
माघ १९
नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री-वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर फाइदा हुने स्थानीयको भनाइ छ ।
अहिले संस्थानले उक्त चामल प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध गराएको छ । ‘अरुवा मोटो चामलबाट घरेलु मदिरा निकै राम्रो बन्छ, यसबाट बनाएको मदिरा प्रतिबोतल १ सय रुपैयाँमा बिक्री हुने भएको हुदाँ पातारासी गाउँपालिका स्थानियले संस्थानको चामल मदिरा बनाउन थालेको पाइएको छ ।
पातारासी गाँपालिकाका स्थानिय मानबहादुर रावतले भने, संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्ने गरेका र स्थानिय अन्न महंगो भएको र संस्थानको चामल सस्तो भएकाले पनि स्थानियले जाँड तथा रक्सी बनाउन थालेका हुन । यस्तो कार्यले जुम्लाका अन्य गाँउपालिकाका बासीलाई असर परेको रावतले बताए ।
पातारासी गाँउपालिकाकी स्थानिय निरु बुढाले भनिन्, कतै खाने चामल छैन, कतै खेर फाल्ने चामल यो कसरी भो, खाने चामललाई जाँड तथा रक्सी बनाउन उचित होइन । उनले भनिन् यो गलत काम हो । कर्णाली कै हुम्ला, डोल्पा, मुगु र कालिकोटका मानिसले चामल पाएका छैन तर जुम्लाको पातारासी गाँउपालिकाका स्थानियले अनुदानको चामल बाट मदिरा बनाएको सुन्दा अचम्म लागेको बुढाले बताईन ।
खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख रणबहादुर ऐरले भने खाद्य संस्थानको लक्ष्य स्थानियलाई अनुदानको चामल जाँड र रक्सी बनाउनको लागि दिएको होइन तर यहाँ स्थानियले अुनदानको चामल मदिरा बनाउने गरेको पाइयो । संस्थान बाट प्रति व्यक्ति २ प्याक मात्र अनुदानको चामल दिइने गरिएको प्रमुख ऐरले भने ।
जुम्लामा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन हुने गरे पनि कुनै पनि करको दायरामा आएका छैनन् । जिल्लाका १८ हजार घरधुरीमध्ये आधाभन्दा बढीमा घरेलु मदिरा उत्पादन हुन्छ । जुम्लामा जति पनि घरेलु मदिरा उत्पादन हुन्छन् ती सबै अवैध रहेको जिल्ला करदाता सेवा कार्यालयका करअधिकृत खडानन्द खत्रीले बताए ।
‘घरेलु मदिरा उत्पादक कुनै पनि कर दायरामा छैनन्, गैरकानुनी रूपमा उत्पादित घरेलु मदिरा राज्यले बन्देज गर्नुपर्छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।
गैरकानुनी रूपमा घरेलु मदिरा उत्पादन भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले स्विकारे । तर, यसको रोकथाम र नियन्त्रणमा प्रहरी प्रशासन लागिपरेको उनको भनाइ छ ।