१८ बर्षदेखि पत्रकारीतामा क्रियाशिल
कृष्णराज धमाला
फागुन ११, सुर्खेत ।
कान्तिपुर दैनिकका उपसम्पादक तुलाराम पाण्डेले यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार पाएका छन् । कालिकोटमा रहेर १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पाण्डेलाई उत्कृष्ट समाचार लेखे वापत कान्तिपुर पब्लिकेशन्सको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा यस वर्षको कान्तिपुर प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष समेत रहेका पाण्डे मध्यपश्चिम ब्यूरोअन्र्तगत भेरी, कर्णाली र राप्तीको तर्फबाट छनोट भई फागुन ७ गते कान्तिपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाबाट पुरस्कृत भएका हुन् ।
कालिकोटको खाँडाचक्र नगरपालिका निवासी पाण्डले यसअघि सशस्त्र द्वन्द्वमा जोखिम उठाएर पत्रकारिता गरेवापत यदु स्मृति पत्रकारिता पुरस्कार, दलितको पक्षमा कलम चलाए वापत जागरण मिडिया सेन्टरवाट स्थापित सुवास दर्नाल पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघद्धारा स्थापित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार र राष्ट्रिय सरसफाई पत्रकारिता पुरस्कारबाट सम्मानीत भइसकेका छन्। पाण्डे १८ वर्षदेखि कालिकोटमा रहेर पत्रकारिता र समाज सेवाको क्षेत्रमा क्रियाशील रहेका छन् ।

कृष्णराज धमाला