
लोकान्तर
सुर्खेत, १३ वैशाख– सिटी बसपार्क निर्माणमा ढिलाइ भएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले निर्माण कम्पनीसँग म्याद थपको सम्झौता गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको पहलमा केही दिनअघि बाँकेको नेपालगञ्जमा बसेको निर्माण कम्पनी र सम्वन्धित सरोेकारवाला निकायबीचको वैठकले आगामी मे महिनाको २० तारिक (जेठको ६ गते) सम्म बाँकी रहेको निर्माणकार्यको ५० प्रतिशत काम सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा निर्धारित समयमा कार्य सम्पन्न नभएको खण्डमा म्याद थप नगर्ने र सम्झौता बमोजिम कारवाही गर्ने लिखित समझदारी भएको छ ।
बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले सुनुवाइ नगरेपछि यस्तो समझादारी गर्नुपरेको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
‘वीरेन्द्रनगरमा बसपार्कको समस्याका कारण व्यवसायीहरुको गुनासो बढेको थियो’ उनले भनिन्, ‘हामीले अब तत्काल काम शुरु नगरे म्याद नथप्ने र सम्झौता बमोजिम कारवाही गर्ने निर्णय गराएका हौं ।’ उपप्रमुख ढकालले नगरपालिका विकास निर्माणको कार्यमा ढिलाइ भएको टुलुटलु हेरेर बस्ने अवस्थामा नरहेको बताइन । ‘हामीलाई जनताले महत्वपूर्ण म्याण्डेट दिएका छन्’ उनले भनिन्, ‘जनताको भावना बमोजिम काम गर्ने प्रमुख उदेश्य हाम्रो रहेको छ ।’
उक्त निर्णयमा नगर विकास कोषका निमित्त निर्देशक विनोद न्यौपाने, रविन्द्र प्रधानाङ्ग, वरिष्ठ इन्जिनियर हिरालाल महतो, वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारी, निर्माण व्यवसायी नरसिंह शाहीलगायतले हस्ताक्षर गरेका छन् ।
पछिल्लो पटक थपिएको म्यादअनुसार निर्माण कम्पनी चाङमला र नरसिंह जेभी दार्चुलाले यही वैशाख मसान्तसम्म पुरा गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर, वैशाखको आधा महिना लागिसक्दा निर्माणको करिब २५ प्रतिशत काम अधुरै छ । कालोपत्रे, टर्मिनल भवनको रङरोगन लगायतका कामहरू बाँकी नै छन् । चाङमला र नरसिंह जेभी र नगर विकास समितिबीच २०७२ माघमा निर्माण सम्झौता भएको थियो । १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि दुईपटक म्याद थप्दासमेत निर्माण पूरा गर्न सकेनको छैन ।
६ करोड ८३ लाखमा निर्माण लागत रहेको बसपार्कमा ५६ वटा व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टरको निर्माण भइसकेको छ । करिब चार हजार पाँच सय वर्गमिटर क्षेत्रफल रहेको निर्माणाधीन बसपार्कमा सानाठूला गरी १ सय २० वटा बस अट्न सक्ने क्षमता रहेको छ ।
साभारःलोकान्तर ।
