अफगान सरकारद्वारा युद्धविराम घोषणा

News Desk

News

इद पर्वका लागि दुवै पक्षले युद्धविराम गरेको अफगानिस्तानमा सरकारले तालिवानहरूसँगको एकपक्षीय युद्धविरामलाई निरन्तरता दिएको छ।

राष्ट्रपति असरफ गनीले उग्रवादीहरूलाई सरकारको अग्रसरतालाई स्वीकार गर्दै शान्ति वार्तामा आउन भनेका छन्।

इदको अवसरमा युद्धविराम गरिएपछि देखिएका अभूतपूर्व दृश्यमा विद्रोहीहरूले सुरक्षा फौजका सदस्यहरूसँग अंकमाल गरेका र नागरिकहरूसँग मोबाइलमा ‘सेल्फी’ लिइरहेका थिए।

तर तालिबान र सरकारी अधिकारी जम्मा भएको एउटा भिडमा गरिएको आत्मघाती हमलामा २५ जना मारिएका छन्।

नाङ्गहारमा भएको उक्त हमलामा तालिबानका सदस्य र स्थानीय बासिन्दा बढी प्रभावित भएको र ५४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

उक्त क्षेत्रमा सक्रिय रहेको इस्लामिक स्टेट समूहले आफूले हमला गराएको बताएको छ।

राष्ट्रपति गनीले के भने?

टेलिभिजनमा गरिएको सम्बोधनमा राष्ट्रपति गनीले तालिबानहरूसँग ‘विस्तृत वार्ता’ गर्न सरकार तयार रहेको बताए।

“ती सबै विषयहरू र अन्य मागका सम्बन्धमा हामी शान्ति वार्तामा कुरा गर्न तयार छौँ,” उनले भने।

उनले इद अल फित्रका अवसरमा तालिबान र सरकारी फौजहरु तथा अधिकारीहरू एकै ठाउँमा उभिएकाले सबै जना शान्तिको पक्षमा रहेको पनि देखाएको उल्लेख गरे।

उनले युद्धविरामको अवधिमा तालिबानी लडाकूहरूलाई स्वास्थ्य र मानवीय सहायताहरू उपलब्ध गराइने र तालेबान बन्दीहरूलाई आफ्ना परिवारसँग भेट्न दिइने पनि उल्लेख गरे।

उनले सरकारले केही तालिबान बन्दीहरूलाई रिहा गरेको पनि बताए।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शान्ति वार्ताले अन्तर्राष्ट्रिय शक्तिहरू र सुरक्षा फौजहरूका भूमिकाबारेमा पनि छलफल गर्नुपर्ने बताएका छन्।

यसै महिनाको सुरूमा तालिबानहरूले अफगान सरकारसँग गोप्य ढङ्गले उनीहरुले वार्ता गरिरहेको भन्ने विवरण अस्वीकार गरेका थिए।

राष्ट्रपति गनीले पाकिस्तानी तालिबानका कमाण्डर मौलाना फजलुल्लाहको अमेरिकी ड्रोन हमलामा बिहीवार निधन भएको पनि पुष्टि गरे।

अभूतपूर्व

इदको अवसरमा तालेबान र अफगान सुरक्षा फौजबीच देखिएका युद्धविरामका दृश्य अभूतपूर्व भएको बीबीसीका अनवरसन एथिराजन बताउँछन्।

उनका अनुसार दुवै पक्ष केही दिनअघिसम्म लडाइँमा थिए र पछिल्लो अप्रत्याशित घटनाक्रममले युद्धले आहत अफगानिस्तानमा स्थायी शान्तिको आशा जगाएको छ।

अफगानिस्तानमा शान्ति प्रक्रिया सुरू हुन छिमेकी पाकिस्तानको महत्त्वपूर्ण भूमिका हुने ठानिन्छ किनभने धेरै अफगान तालिबान नेताहरू पाकिस्तान भित्रै बस्ने गरेको ठानिन्छ।

इस्लामावादले काबुलले पाकिस्तानमा हिंसात्मक आक्रमण गर्ने इस्लामवादी विद्रोहीहरूलाई मलजल गरेको आरोप लगाउने गरेको छ।

पाकिस्तानले सर्वाधिक खोजीको सूचीमा राखेको मुलाह फजलुल्लाह मारिएका विवरणले इस्लामावादका केही सुरक्षा चासोहरू सम्बोधन हुनसक्ने ठानिन्छ।

युद्धविराम कसरी भयो?

सरकारले बुधवारसम्म लागु हुने युद्धविराम घोषणा गरेको केही दिनपछि यसै महिनाको सुरूमा तालिबानले तीन दिने युद्धविराम घोषणा गरेका थिए।

सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि उनीहरूले नेतृत्व गरिरहेको सरकारलाई अपदस्थ गरिएपछि गरिएको यो पहिलो तालिबानी युद्धविराम हो।

“यो सबैभन्दा शान्तिपूर्ण इद रह्यो। पहिलो पटक हामीले सुरक्षित महसुस गर्‍यौ। यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ,” दक्षिण अफगानिस्तानको जाबुलका एक विद्यार्थीले भने।

युद्धविरामको समयमा तालिबान र सरकारी फौजहरूले मस्जिदहरूमा संयुक्त प्रार्थना पनि गरेका थिए।

फेब्रुअरी महिनामा राष्ट्रपति गनीले ‘सर्तरहित’ वार्ताका लागि आह्वान गरेका थिए।

उनले कानुनको शासनको सम्मान गरे तालिबानलाई वैधानिक राजनीतिक शक्तिको मान्यता दिइने पनि बताएका थिए।

सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणपछि सत्ताबाट तालिबानलाई हटाइएयता भएका हिंसामा दशौँ हजार अफगानीले ज्यान गुमाइसकेका छन्। बिबिसि नेपालीबाट