२८ श्रावण, काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित तीनजनालाई गैरकानुनी थुनामा राखेको दाबीसहित आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
विश्वकर्मासहित थुनामा राखिएका कालिकोट जिल्ला कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य र कपिलवस्तु बाणगंगा नगरपालिका-४ का मनबहादुर श्रेष्ठका हकमा वन्दीप्रत्यक्षीकरण रिट दायर भएको हो। आचार्य उक्त पार्टीका कार्यकर्ता र श्रेष्ठ यातायात व्यवसायी रहेको रिटमा उल्लेख छ।
उनीहरूको थुनामुक्तिको माग राखेर बुढानिलकण्ठ नगरपालिका-४ का नरेन्द्रबहादुर विश्वकर्माले रिट दिएका हुन्। निवेदक खड्गबहादुरका छोरा हुन्। सुरुमा प्रहरी प्रभाग चाल्नाखेलमा राखिएकोमा अहिले बन्दीको अवस्थाबारे जानकारी हुन नसकेको दाबी निवेदकको छ।
गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय, काठमाडौं जिल्ला अदालत र महानगरीय प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ। रिटमा बन्दीलाई यातना दिएर राखिएको र परिवारका सदस्यलाईसमेत भेटघाट गर्न नदिएको उल्लेख छ। सर्वोच्च प्रशासनका अनुसार रिटमा सोमबार सुनुवाइ हुनेछ।
यता काठमाडौं जिल्ला अदालतले आइतबार नै यी तीनजना वन्दीलाई थप तीन दिन थुनामा राख्न अनुमती दिएको छ। चन्दा ऐन, २०३० अनुसार मुद्दा चलाउने तयारीका लागि विश्वकर्मालाई थुना अनुमती लिइएको हो।
उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले भने थप १५ दिन म्याद थप गर्न माग गरेको थियो। यसअघि पनि पाँच दिनसम्म थुनामा राखिसकिएको छ। प्रहरीले प्रकाण्डसहित तीनजनालाई साउन २२ गते चाल्नाखेलबाट पक्राउ गरेको थियो।
अन्नपूर्णपोष्टबाट
