मधुमेह रोगीको यौन जीवन कस्तो हुन्छ ? करुणाले खोलिन् रहस्य


करुणा जी,
म ५३ वर्षको पुरुष हुँ । सात वर्षयता मधुमेह रोगले पीडित छु । सुनेअनुसार मधुमेहका लक्षणहरुमध्ये एउटा लक्षण यौन शिथिलता पनि हो । ५० वर्ष पार गर्दा र मधुमेह रोगी हुँदा पनि मेरो यौनेच्छामा कमी आएको छैन ।

मेरी श्रीमती मभन्दा आठ वर्ष कान्छी छन् । तीन वर्षअघि उनको पाठेघरको शल्यक्रिया गरेकाले होला, उनमा यौन इच्छा शुन्यबराबर छ । कहिलेकाहीँ यौन सम्पर्क राख्न खोज्दा उनी तर्किने गर्छिन् । अब मैले के गर्नु उपयुक्त हुन्छ ?

सामान्यतया पुरुषको यौनेच्छा ४२ वर्षपछि कम हुन थाल्छ । यो विज्ञानले प्रमाणित गरेको सत्य हो । मानव शरीरले प्रत्येक सात वर्षमा आफ्नो रुप फेर्ने गर्छ ।

सात वर्षसम्म बालपन, १४ वर्षदेखि किशोरपन, २१ वर्षपछि यौवन, २८ वर्षपछि शरीर र मनमा परिपक्वता, ३५ वर्षपछि शरीरले सबै किसिमका पूर्णता प्राप्त गर्छ । यही विज्ञानअन्तर्गत ४२ वर्षपछि शरीरमा यौन इच्छालगायत अन्य इच्छामा कमी हुन थाल्छ । तपाईंमा ५३ वर्षमा पनि यौनेच्छा उस्तै रहनु वा कम नहुनुमा केही कारण हुन सक्छन् ।

तपाईंले आफ्नी श्रीमती आठ वर्ष कान्छी भएको र शल्यक्रियापछि उनमा यौनेच्छा कमी भएको बताउनु भयो । तर, तपाईंहरुको विवाह भएको कति वर्ष भयो, पहिले तपाईंहरुको यौन जीवन कस्तो थियो, त्यसबारे खुलाउनु भएन ।

अपूरो सूचनाका आधारमा तपाईंलाई उचित र परिपक्व सुझाव दिन सकिँदैन । यद्यपि, तपाईंको प्रश्नमा टेकेर केही सुझाव दिने प्रयास गरेकी छु ।

खासमा आफ्नो यौवनमा राम्रोसँग यौनेच्छा पूरा गर्न नसकेका वा विभिन्न कारणले यौनेच्छा दबाएका पुरुषहरु ५० वर्षपछि यौनमा निकै चासो राख्न थाल्छन् । हाम्रो समाजमा मानिसलाई सभ्य, सुसंस्कृत एवं एक नारी ब्रम्हचारीको पाठ पढाइने गरिन्छ ।

फलस्वरुप उमेरमा आफ्नो शारीरिक र मानसिक बलले यौनका कतिपय आवेग दबाउँदै जानुपर्ने बाध्यता छ । शरीरको भोक दबाए पनि मनले यो प्राकृतिक कुरा खोजिरहेको हुन्छ । जब शारीरिक बल कमजोर हुन्छ, मनभित्रका चाहना उर्लिएर आउँछन् ।

ती चाहनालाई रोक्न गाह्रो हुन्छ । यही कारण गाउँघरमा बूढेसकालमा विवाह गर्ने, बूढेसकालमै अनैतिक सम्बन्ध राख्ने क्रम बढेको देखिन्छ । कतिपय पाका लोग्ने मानिसलाई गाउँघरमा ‘पात्तिएको बुढो’ नामाकरण गर्ने चलन पनि छ । यी कुरा ती व्यक्तिमा धेरैजसो लागू भएको देखिन्छ, जो युवावस्थामा समाजमा भलाद्मीका रुपमा चिनिने गर्थे ।

५३ वर्षको उमेरमा त्यो पनि मधुमेहको बिरामी हुँदा हुँदै तपाईंमा यौनेच्छा घट्नुको साटो बढिरहेको छ भने पक्कै पनि आफ्नो सक्रिय उमेरमा तपाईंले आफ्ना धेरै यौनेच्छालाई दबाउने प्रयास गर्नुभयो ।

शायद सार्वजनिक जीवन बाँच्ने वा इज्जतिलो जागिरमा हुनुहुन्थ्यो होला । मनमा उर्लेका कतिपय यौन क्रियाकलापलाई खुलेर भन्न वा क्रिया गर्न सक्नुहुन्थेन होला । उमेरमा दबाइएका यौनेच्छा अहिले आएर शरीरमा रुपान्तरित भइरहेका हुन् कि भन्ने तपाईंको प्रश्नबाट झल्किन्छ ।

यो उमेरमा आफ्ना यौन चाहनाका लागि बाहिर जानु नेपालजस्तो मुलुकमा सम्भव छैन । तर, यसलाई दबाउनु झन् बढी हानिकारक हुनसक्छ । तपाईंकी श्रीमतीसँग यससम्बन्धी सल्लाह गरेर मुख मैथुन वा अन्य खालको सहयोग लिएर तपाईं यौनइच्छा पूरा गर्न सक्नुहुन्छ ।

यो उमेरमा योग ध्यानको शुरुवात गर्न सकिन्छ । तर, मैले दिने सुझावमा योग र ध्यानलाई धार्मिक कृत्यमा भन्दा पनि यौनेच्छा पूरा गर्ने साधनका रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंलाई जुनबेला कामेच्छा जाग्छ, त्यसबेला ध्यानमा बस्नुहोला र आफूलाई कस्ती स्त्रीसँग कस्तो आशनमा यौन क्रियाकलाप गर्न मन लागेको छ, त्यो कल्पना गर्नुहोला । शुरु-शुरुमा यसो गर्दा तपाईंलाई गलत काम गरेझैं लाग्छ । किनभने हाम्रो मनमा ध्यान वा योग भनेको ईश्वर पाउन मात्र गरिन्छ भन्ने सिकाइएको छ ।

तर, तपाईं जब कल्पनामा आफूलाई मनपर्ने स्त्रीसँग मनपर्ने आसनमा सम्बन्ध राख्न थाल्नुहुन्छ, तपाईंलाई अपार आनन्द आउनथाल्छ । यसले अचेतनमा दबेका तपाईंका सारा इच्छा पूरा हुन थाल्छन् । मधुमेह रोगका कारण तपाईं पूर्ण रुपमा शारीरिक सम्बन्ध राख्न सक्नुहुन्न तर कल्पनामा भरपुर मात्रामा सक्नुहुन्छ ।

कल्पनामा तपाईंकी स्त्री रोगी र यौनेच्छा नभएकी श्रीमती होइन, तपाईंले खोजेजस्तै अद्भूत सुन्दरीसँग सम्बन्ध राख्न सक्नुहुन्छ । यसलाई ‘आत्मरती’ पनि भन्ने गरिन्छ । यसबाट विस्तारै-विस्तारै तपाईंका अचेतन मनका यौन चाहना पूरा हुन थाल्छन् र तपाईं अहिलेजस्तो अति कामुकताबाट मुक्त हुन सक्नुहुन्छ ।

साभारः अनलाइनखबर