जुम्लामा जडिबुटी स‌ंकलनबाट करिब ३१लाख राजश्व संकलन



हरि कृष्ण कुमाई

६ पौष, जुम्ला । प्रदेश नं. ६ को मुख्य अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको जडिबुढीमा ३१ लाख राजश्व संकलन भएको छ । कर्णालीका जुम्ला, मुगु, कालिकोट, डोल्पा र हुम्ला पाँचै वटै जिल्लाहरुलाई जडिबुढीको प्रचुर सम्भावना बोकेका जिल्लाहरु मानिन्छन् । स्थानिय बासिन्दाहरुको आय आर्जनको मुख्य श्रोत नै जडिबुढी संकलन नै भएकोले स्थानियहरुको जडिबुढी संकलन तर्फ आर्कषण बढेको हो ।

आजभोली जुम्लाका किसानहरु आफ्नो खेतिपातिलाई छोडेर जडिबुढी संकलन गर्ने पाटन तिर लाग्ने गरेको पाइएको छ । १  महिनाको कमाईले वर्षदिन खान, लाउन, स्वास्थ्य उपचार गर्न तथा बालबच्चाको शिक्षा दिक्षामा खर्च पुग्ने भएकोले बुढापाका देखि बालबालिका सम्म जडिबुढी संकलन गर्न जाने गर्छन ।

धेरै बालबालिकाहरु जडिबुढी संकलन गर्न चैत देखि असार दोश्रो सातामा पाटन तिर जाने भएकोले गाँउमा सवै विद्यालयहरुमा पठनपाठन बन्द हुने गरेको छ । विद्यार्थीका साथै शिक्षकहरु पनि जडिबुढी संकलन गर्न जाने गरेको कारण विद्यालय बन्द हुने गरेको हो ।

जुम्लामा पाईने जडिबुढीहरुमा यार्सगुम्वा, पाँच औले, बाघे जडि, निनाई जडि, पाखन वेद, कमल वेद, विखमा, घुच्चि च्याउ, कटुको, सातो चिनी, चिराइतो, पदम चाल, आक्च्या, वन लसुन, भुत केश,जटामसी, आदि जडिबुढी पाइने गरेको छ । यि जडिबुढी बाट स्थानियहरुले प्रतिव्यक्ति करिब १ लाख रुपैँया देखि ७लाख रुपैँया सम्म १ महिनामा कमाई गर्न थाले पछि जुम्लाका अधिकांश किसानहरुले आफ्नो परम्परा गत खेतिपातिलाई छोडेर जडिबुढी संकलन गर्न थालेका हुन ।
संकलन गरेको जडिबुढी खरिद गर्नकालागि व्यापारीहरु पाटन सम्म पुग्ने गरेका छन् ।

जीवन बुटीका रुपमा चिनिन्ने यार्सगुम्वा प्रति १ को रु ५ सय देखि १ हजार सम्ममा व्यापारीले पाटनमा नै किन्ने गरेको पाइन्छ । दुई दशक देखि जडिबुढी व्यवसाय गर्दै आएको र जुम्लामा पाइने जटामसी, पाखनवेद, कमलवेद, पदमचाल, सेतो चिनी, वन लसुन कटुको र यार्सगुम्वा लगायतको जडिबुढीहरुमा यो वर्ष ४ करोड रुपैँया बरावरको जडिबुढी व्यवसायमा लगानी गरेको गोठिचौर गाउँपालिका ३ का जडिबुढी व्यवसायी टंक गिरीले बताए ।

धेरै चोरी निकासीका कारण जुम्लामा जडिबुढी लोप हुनेमा चिन्ता व्यक्त गर्दै गिरिले जलवायु परिवर्तनका कारणले पनि होला हिमालमा हिमाली क्षेत्रमा लामो सम्म हिँउ नजम्ने भएकोले यार्सागुम्वा धेरै मात्रमा पाउन छोडेकोले अव सवै मिलेर जडिबुढीलाई संरक्षण गर्नु पर्ने बताउनुभयो ।

यो वर्षमात्र जुम्लामा १ हजार २ यस ६२ क्युन्टल जडिबुढी संकलन गरिएको जिल्ला वन कार्यालयले बताएको छ । जिल्ला वन कार्यालय जुम्लाले जडिबुढी बाट यो वर्ष साउन देखि मसिंर महिना सम्म करिव ३१ लाख रुपैयाँ बरावरको आर्थिक राजश्व संकलन गरेको सहायक वन अधिकृत भरतबहादुर बुढथापाले बताए । पछिल्लो समय जुम्लामा अवैध रुपमा जडिबुढी संकलन भईरहेको हुदाँ यो वर्षजडिबुढी उत्पादनमा केही मात्रमा ह्रास आएको र यसको प्रत्यक्ष असर जटामसी र यार्सागुम्वामा परेको बुढाथापाले जानकारी दिए ।

जुम्लामा व्यवसायी रुपले कुनै पनि किसानहरुले जडिबुढी व्यवसाय गरको पाइदैनन् । नेपाल सरकारले जडिबुढी खेतिलाई सहुलियत दिएमा जुम्लामा जडिबुढी खेति तर्फ वेरोजगार युवाहरुको आर्कषण बढ्ने देखिन्छ । जुम्लामा संकलन गरिएको जडिबुढीलाई नेपालको विभिन्न सहरहरु लगाएत छिमेकी देश भारत, चीन र तेस्रो मुलुकहरुमा पनि निर्यात हुने गर्दछ ।