नमुना कारागारमा खानेपानीको चरम आभाव


कैदीबन्दी पानी जन्य रोगको शिकार

तिला नदिमा राखिएको पानी तान्ने मोटर

हरिकृष्ण कुमाई, जुम्ला
पुस १९,
६ नम्वर प्रदेशकै नमुना जेलका रुपमा रहेको जुम्ला कारागारमा खानेपानीको चरम अभाव देखिएको छ । तिला नदिको दुसित पानीको प्रयोगले कैदी बन्दी, सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई पानी जन्य रोगले संक्रमण गरेको छ । जुम्ला कारागारका एचए हस्तबहादुर रोकाया दुषित पानीले टन्सीलाईटिस, पत्थरी र छाला सम्वन्धीका रोगले सक्रमण गरेको बताउनुहुन्छ । “स्वच्छ खानेपानी छैन, मोटर लगाएर तिला नदीको दुषित पानी पिउन विवश छौ, कारागारको भवन निर्माण गर्दा खानेपानीको एउटा धारा जडान गरिएकोमा त्यसैबाट ४ वटा धारा निर्माण गरिएको छ तर धारा बाट एक थोपा पानी आउँदै र बाध्य भएर तिलाको पानी पिईरहेका छौ” एचए रोकायाले दुखेसो पोख्नुभयो ।

चिसोको समयमा तिलाको पानी जमेर बरफ हुने भएकोले जनेटरले त्यही पानी तान्न समेत समस्या देखिएको छ, विहान र दिउसो तानेको पानी प्रयोग गर्ने गरिएको छ त्यसमा पनि सदरमुकाम खलंगाको घरहरुवाट निकालेको ढल तिला नदिमा मिसिएर जाने गरेको हुनाले तिलाकोपानी प्रयोग गर्दा संक्रमण हुने गरेको हो ।

प्रमुख जिल्ला अधिकारीलाई पटक पटक कारागारको खानेपानी चरम अभावका विषयमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई हुने नगरेको दुखेसो कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल ४२ जना पुरुष र ४ जना महिला कैदीबन्दी छन् । पानीजन्य रोगको संक्रमणले गर्दा कैदीबन्दीको अवस्था नाजुक रहेको कारागार प्रशासन जुम्लाले जनाएको छ ।

कैदीबन्दीहरुका नाईके समिर वोहोरा संविधानले स्वच्छ खानेपानीकोे हक सुनिश्चित गरेको भएपनि आफुहरु फोहोर पानी पिउनु परेको बताउनु हुन्छ । “नियमित खोलाको पानी खाईरहेका छौ । ज्वरो आउने, रुघाखोकी र टाउको दुख्ने समस्याले ग्रसित छौं । झाडापखाला निमोनिया भईराखेको छ । नियमित स्वास्थ्य चेक भैरहे पनि ४ महिना देखि सिधै खोलाको पानी खाइरहेको बताउँदै १ साता भित्र खानेपानीको प्रवन्ध नभए आन्दोलन गर्ने चेतावनी दिएको नाइके बोहोराले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल कारागारको संरचना वन्नु अघि खानेपानीको अवस्थाका वारेमा राम्ररी नसोच्दा समस्या निम्तिएको बताउछन । यो दोष डिजाईन स्टमेट गर्ने वेलाको हो अब सुरक्षित खानेपानी पिउने व्यवस्थाको लागि पहल गर्ने उहाँले बताउनुभयो ।

अहिले कारागारमा सोडिस, फिल्टरिङ, वाटरगार्ड र पिउसको समेत व्यवस्था छैन ।