गाँउमा दाजुभाईले चलाए निशुल्क स्वास्थ्य शिविर


बिस्नप्रसाद न्यौपाने । कालिकोट ।

माघ १८ । कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका २ लुसाका दुई दाजुभाईले बिदेशमा गरिएको कमाईबाट गाँउमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । दलसुर र अनीता कठायतका छोरा दीलबहादुर कठायत र केशव कठायतले बिदेशमा गएर आफहूले कमाएको पैसाबाट आफु जन्मिएको गाँउमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् ।

सान्नित्रिवेणी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग तथा दाजु दिलबहादुर कठायतको आर्थिक सहयोग भाई केशव कठायतको व्यवस्थापनमा गाँउमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेपछि स्थानिय १ हजार ३ सय ७७ जना स्थानीय नागरिकहरुले सेवा लिएका छन् ।

सान्नित्रिवेणी गाउँपालिका स्वास्थ्य संयोजक मीनबहादुर बिष्टका अनुसार बाल रोग, स्त्री रोग, दाँत, आँखा, हाड जोर्नी तथा सामान्य उपचारका लागि संचालन गरिएको स्वास्थ्य शिविरमा ७ सय ८९ जना महिला र ५ सय ८८ जना पुरुषले सेवा लिएका छन् । कालिकोट जिल्लामै स्थानिय स्तरमा बिभिन्न खालका बिशेषज्ञ उपचारका निशुल्क स्वास्थ्य शिविर पहिलो पटक भएको बताए ।


कालिकोट जिल्लाका सान्नित्रिवेणी गाउँपालिका २ मा जन्मिएका हाल चाईनामा व्यवसाय गर्ने समाजसेवी व्यापारी दिलबहादुर कठायतले आफ्नो बाल्यकालमा सामान्य बिरामी हुँदा पनि उपचार नपाएको स्मरण गर्दै आफ्नै कमाईबाट निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए । उनले जन्मभुमीका माया र सामान्य स्वास्थ्य उपचार समेत पाउन समस्या खेप्ने सर्बसाधारणहरुको उपचारका लागि आफुले गाँउमा स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।

गाँउमा आफुलाई हुने बिभिन्न दम, खोकी लगायतका समस्याको उपचार गाँउमै पाएको र गाँउमै ठुला ठुला डाक्टहरु पनि आफुले पहिलो पटक देख्न पाएको बताए स्थानीय बृद्ध नरु गिरीले बताए ।

सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले दिलबहादुरका दाजुभाईले बिदेशमा कमाएका् पैसाले गाँउमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेर नमुना काम गरेको बताउदै गाँउपालिकाले पनि यसमा सहयोग गरी भिडियो एक्सरे सेवा समेत संचालन गरेको बताउँदै बिदेशमा गरिएको कमाई गाँउका नागरिकहरुको स्वास्थ्यमा लगानी गरी दीलबहादुरको उदाहरणीय कामको भन्दै प्रशंसा गरे ।