सृजनामा पूर्णता पाएका– अपूर्ण ( भिडियाे सहित )


२०३५ साल कार्तिक ११ गते वुवा स्व. परशुराम धमाला, आमा धनादेवी धमालाको कोखबाट कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६ मा जन्मिनु भएका कृष्णराज धमाला कर्णालीको पहिलो गजल कृतिकार भनेर चिनिन्छन् ।

वाल्यकालमा दाजुहरुले रामायण लय हालेर गाएको सुन्दै गर्दा साहित्यमा अभिरुचि राखेका धमाला गजल, गीत, कविता, मुक्तक, लघुकथा लगायतका बिधामा बिगत लामो समयदेखी कलम चलाउदै आएकाछन् । बिद्यालयका बिभिन्न प्रतियोगितमा सहभागी हुदै रचना लेखन र बाचनमा सक्रियता देखाउदै आफूले रचना गरेका रचनाहरुको कृति पनि प्रकाशित गरेकाछन् ।

२०५७ सालमा बिरह बिम्ब कविता संग्रह, २०५९ मा अनिदोरातका सपनाहरु गजल संग्रह, २०६० मा प्रदेशिको बाटो देउडा गीति एल्बम, २०६२ मा भिजेको सीरानी गजल, मुक्तक संग्रह, २०७३ मा देउडामा अमर अनिपाल शाही खोजी कृतिहरु प्रकाशित छन् । मध्यपश्चिमका गजल हस्ताक्ष, गजल दिप, गजल बिम्म, नेपाली समकालीन गजल लगायतका कृतिमा पनि सहलेखन गरेका धमाला आफूलाई अपूर्ण भनेर चिनाउँछन् ।

अपूर्ण का गजल, भजन, देउडा, लोक दोहोरी, तिज लगायत बिभिन्न प्रकृतिका तिन दर्जन भन्दा बढि गीतहरु रेकर्ड पनि भएकाछन् । खसभाषाको चलचित्र पानकली मा नायकका भूमिका समेत निर्बाह गरेका अपूर्ण नेपाल नाट्य तथा संगित कला प्रज्ञा प्रतिष्ठान लगायतका केही सस्थाहरुको सम्मानीत पनि भइसकेकाछन् भने कर्णाली स्तरीय कविता प्रतियोगितामा समेत उनले प्रथम स्थान हाँसील गर्न सफल भएकाछन् ।

कर्णाली कै पहिलो सामूदायीक रेडियो कर्णाली बाट रेडियो पत्रकारीता सुरु गरेका अपूर्ण कुशल प्रस्तोताका रुपमा चिनिन्छन्, भने एक दर्जन बढि डकुमेन्टिमा समेत उनले आवाज दिएकाछन् । बहुप्रतिभाका धनी कृष्णराज धमालालाई केही समय अघि कर्णाली कला सस्कृति प्रतिष्ठानले पनि सम्मान गरेको थियो ।

कविता, गजल, गीत, मुक्तक लेखन सँगै पत्रकारीता तथा समाज रुपान्तरणमा बिगत लामो समयदेखि अपूर्णले दिएको योगदानको कदर अग्रज र अनुजहरुले गरीरहेकाछन् । यात्रामा पूर्ण बिराम नलागोस्, नेपाली साहित्यमा थप इट्टा थप्न हौषला मिलोस शुभकामना ।

प्रस्तुतीः अशाेककुमार सिंह