नेपाललाई प्राज्ञिक केन्द्र बनाउने उद्‍घोष


नेपाललाई प्राज्ञिक केन्द्र बनाउने उद्‍घोष
लुम्बिनी- राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गरेर समग्र लुम्बिनीक्षेत्र विकासमा अघि बढ्न सरकारलाई आग्रह गरेकी छन्। बुद्धसँग जोडिएका रूपन्देही, कपिलवस्तु र नवलपरासीका ऐतिहासिक संरचना संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनको भनाइ छ।
लुम्बिनीमा शनिबार २५६०औं बुद्धजयन्ती समारोह उद्घाटनक्रममा राष्ट्रपति भण्डारीले समग्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, सडक तथा अन्य भौतिक पूर्वाधार बेलैमा विकास गर्न जरुरी रहेको औंल्याएकी हुन्।

‘महान् व्यक्तित्व विश्वकै अमूल्य निधि भएकाले सीमित जातजाति र राष्ट्रियताको दायरामा संकुचित गर्न मिल्दैन, यति हुँदाहुँदै पनि तिनका जन्मस्थलका बासिन्दाले उनीहरूप्रति विशेष गर्व र ममता महसुस गरेका हुन्छन्,’ उनले भनिन्, ‘बुद्ध दर्शन र बौद्ध धर्मको शाश्वत सन्देशले नेपाली समाजको संस्कृति र मनोविज्ञान निमार्णमा सदैव मार्ग दर्शन गरिरहेका छन्, बुद्धका उपदेशको सान्दर्भिकता बुझ्दै योजनाबद्ध ढंगले प्रवर्द्धन गर्नुपछ।’ बुद्धले प्रतिपादन गरेको शान्ति, अहिंसा, करुणा र भातृत्वको सन्देश द्वन्द्व, अहिंसा र अशान्तिले आक्रान्त वर्तमान विश्वमा अझ सान्दर्भिक हुने राष्ट्रपति भण्डारीले बताइन्।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल ५ हजार जना अट्ने सभाहल निर्माण गर्ने प्रतिबद्धता जनाए। शुक्रबार रातिदेखि परेको वर्षाले मूल समारोह नै बिथोलेपछि एक वर्षभित्रै सभाहल बनाउने घोषणा गरेका प्रधानमन्त्रीले ३८ वर्षदेखि थाँती रहेको लुम्बिनी गुरुयोजना पूरा गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि दोहोर्यारए। ‘बौद्ध दर्शन प्रचारप्रसार गर्दै लुम्बिनी र अन्य बुद्धस्थलको विकास–विस्तारका लागि सबै राजनीतिक पार्टीले वैचारिक मतभेद त्यागेर एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपालले धेरै राजनीतिक मुद्दा सही व्यवस्थापन गरिसकेको छ, अब विकासको बाटोमा तीव्र गतिले अघि बढ्नुपर्छ, पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गरिनेछ।’

कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोख्रेलले काठमाडौंमा भएको दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र सार्वजनिक गरे। उनले बुद्धजन्मस्थल र बुद्धदर्शनको उद्गम लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा एकीकृत विकास तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममा विशेष ध्यान दिइएको बताए।

समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुद्ध विश्व–मानवताका निधि भएको बताए। ‘हामी विश्व बन्धुत्वको भावनासाथ अघि बढ्न यहाँ भेला भएका हौं,’ उनले भने, ‘बुद्धदर्शनले विश्वशान्ति, भाइचारा र राष्ट्रिय एकताका लागि सदैव मार्गदर्शन गरिरहनेछ।’

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई युद्धबाट शान्तितिर लम्कन बुद्धदर्शनले निर्देशित गरेको उल्लेख गरे। ‘बुद्धको जन्म, ज्ञानप्राप्ति र बौद्ध शिक्षाको व्यापकताकै कारण नेपाल, भारत र चीनको सम्बन्ध विशिष्ट बनेको छ,’ उनले भने, ‘बुद्धका सन्देशले यो सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन सन्देश दिएको छ।’

कार्यक्रममा लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु निग्रोध, थाइल्यान्डका पर्यटनमन्त्री, चिनियाँ बुद्धिस्ट एसोसिएसनका भाइस प्रेसिडेन्ट भेनेरेवल मास्टर यिन सन, श्रीलंकाली राजदूतलगायतले पनि बुद्धदर्शनबारे धारणा राखे। गायिका आनी छोइङ डोल्माले बौद्ध गीत प्रस्तुत गरेकी थिइन्। वर्षाका कारण बिहान ८ बजे हुने भनिएको र्याखली स्थगित हुनुका साथै मूल समारोह पनि निर्धारितभन्दा झन्डै दुई घन्टा ढिलो सुरु भएको थियो।

यसैबीच २५६० औं बुद्धजयन्तीका अवसरमा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्र शनिबार लुम्बिनीमा सार्वजनिक गरीएको छ। नेपालसहित २५ देशका बौद्ध ज्ञाता, धर्मगुरु, भिक्षु, भिक्षुणी तथा सरकारी अधिकारी सहभागी सम्मेलनले तयार गरेको काठमाडौं–लुम्बिनी घोषणापत्र मूल समारोहमा संस्कृतिमन्त्री पोख्रेलले सार्वजनिक गरेका हुन्। घोषणापत्रले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको र बुद्धिज्मको मुहान नेपाल नै भएको निष्कर्ष निकालेको छ। घोषणापत्रले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्ति केन्द्रका रूपमा स्थापित गर्दै नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रका रूपमा विकास गर्न ‘इन्टरनेसनल बुद्धिस्ट फोरम’ गठन गर्ने निर्णय पनि गरेको छ।

साभारः नागरिक अनलाइन