कर्णाली प्रदेशस्तरिय टि २० को उपाधी सुर्खेतले चुम्यो


२६ फागुन । सुर्खेत । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । आज भएको फाइनलमा रुकुमलाई ३ विकेटले पराजित गर्दै सुर्खेतले पहिलो कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो ।

फाइनल खेलमा टस जितेर रुकुमले पहिले ब्याटिङ गर्दै एक सय १२ रन जोड्यो । जसमा दिनेश पुनले सर्वाधिक ५७ र महेश विष्टले १८ रनको योगदान गरे । बलिंगतर्फ सुर्खेतका ललित प्याकुरेलले ४ विकेट लिन सफल भए ।

एक सय १३ रनको लक्ष्य सुर्खेतले १८ औं ओभरमा ७ विकेट गुमाएर भेटायो । सुर्खेतका लागि निश्चल रावलले २९ र सन्देश रावतले २४ रनको योगदान दिए । उक्त खेलको म्यान अफ दि म्याच सुर्खेतका ललित प्याकुरेल भए । प्रतियोगिताको म्यान अफ दी सिरिज सुर्खेतका रविन्द्रजंग शाही भए । त्यसैगरी उत्कृष्ट बलर रुकुमका विवश गिरी र उत्कृष्ट ब्याटस्म्यान सुर्खेतका निश्चल रावल भए ।सुर्खेतले प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । सुर्खेत जिल्ला क्रिकेट संघले आयोजना गरेको पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा कर्णाली प्रदेशका ६ जिल्लाको सहभागिता जनाएका थिए ।

साभारः पश्चिमनेपालडटकम