प्रादेशिक शिक्षा ऐन जारी हुने



फागुन ३०, काठमाडौं ।
३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट््टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट््टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको ३ नम्बर प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री दुलालले शिक्षामा सुधार भन्दा रुपान्तरण आवश्यक रहेको बताए । बामपन्थी प्रदेश सरकारले निर्वाचनका बेला गरेका सम्पूर्ण प्रतिवद्धताहरु अक्षरस पालना गर्ने बताउँदै मन्त्री दुलालले यो सरकार समृद्ध मुलुकको लागि सुधार भन्दा आमूल परिवर्तनको बाटोमा अघि बढ््ने स्पष्ट पारे ।

नेकपा माओवादीका नेता एवं संघीय व्यवस्थापिका सांसद अग्नीप्रसाद सापकोटाले समाजवादी शिक्षाको खाका कसैले बनाइदेला भनेर नकुरी आफै बनाउन शिक्षकहरुलाई आग्रह गरे । समाजवादी शिक्षाबाट मात्रै समृद्ध मुलुक बन्नेमा उनको जोड थियो । प्राविधिक र अनुसन्धानात्मक शिक्षा नै अवको आवश्यकता भएकोमा जोड दिँदै सापकोटाले समृद्ध मुलुक निर्माणका लागि हुनगइरहेको शैक्षिक रुपान्तरण अभियानमा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकमा समस्या रहँदा सम्म मुलुक समृद्ध नबन्ने दावी गर्दै अस्थायी, राहत, इसिडि शिक्षक, विद्यालय कर्मचारी लगायत सवैको समस्या थोकरुपमा समाधान गर्नुपर्नेमा जोड दिए । अधिकारीले तत्काल संघीय शिक्षा नीति जारी हुनुपर्ने र सोही अनुसार प्रादेशिक र स्थानीय शिक्षाका कानून बन्नुपर्ने बताए ।

संगठनका ३ नम्बर प्रदेशका अध्यक्ष दुर्गासिंह तामाङले संघीय शिक्षा ऐन नबनीकनै स्थानीय तहहरुले आफुखुसी ऐन बनाएर शिक्षकहरुमाथि प्रहार गरिरहेको बताए । कतै, विद्यालय खारेज गरिएका छन्, कतै शिक्षक सरुवा गरिएका छन्–उनले भने, संघीय शिक्षा ऐन र प्रादेशिक शिक्षा ऐन नबनी स्थानीय तहले बनाएका शिक्षाका कानून मान्न आफुहरु बाध्य नभएको दावी गरे । स्थानीय तहहरुले शिक्षकहरुमाथि गरेको दमन तत्काल रोक्नुपर्नेमा उनको जोड थियो ।