सामाजिक कार्य दिवस मनाइयो


काठमाडौं । ‘विश्व सामाजिक कार्य दिवस २०१८’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा ‘दिगो समुदाय र वातावरणको प्रवद्र्धन’ रहेको थियो । काठमाडौंमा रहेको गोल्डेन गेट कलेज, केएनके कलेज, वर्न हर्ट कलेज लगायतका कलेजहरुले संयुक्त रुपमा दिवस मनाएका छन् ।

किर्तीपुरस्थित स्मृति भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाले देश बनाउने सपना बुन्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले पसिना चुहाएर, श्रम गरेर के ग¥यौ भन्ने विषयमा गम्भीरतापूर्वक समिक्षा गर्न आजको आवश्यकता छ ।’


उपाध्यक्ष ढुंगेलले शिक्षामा भएको विभेद हटाउन गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै समाज रुपान्तरण, देशको उन्मुक्तिका लागि सामाजिक कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । आधुनिक कृषिले मात्रै देश विकास हुने उनको भनाइ थियो ।  कार्यक्रममा विशेष अतिथि त्रिविका प्राध्यापक डा.टिकाराम गौतमले विश्वविद्यालयले सरकारसँग समन्वय गरि सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताए । सिनासका कार्यकारी निर्देशक डा. मिगेन्द्र बहादुर कार्कीले हामीले विदेशका लागि नभइ नेपालका लागि आवश्यक गर्ने सामाजिक कार्यकर्ता निर्माणमा लाग्नुपर्ने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिक विज्ञान संकायका डिन कोपिराम लम्सालले उक्त विश्वविद्यालयले पनि सामाजिक कार्य पठनपाठन गर्दै आएको भन्दै सामाजिक कार्यकर्तालाई एनजिओ, आइएजिओमा भन्दा समाज परिवर्तनतिर लाग्न प्रोसाहित गर्नुपर्ने बताए । त्रिविका उप–प्रध्यापक सरोज गिरीले सामूहिक एकता सुदृढ गर्नका लागि र नेपालको सामाजिक कार्यकर्तालाई विश्वका सामाजिक कार्यकर्तासँग समन्वय गर्न दिवसले थप टेवा पुग्ने बताए । समाज परिवर्तन गर्न सामाजिक कार्यकर्ता आफै परिवर्तन हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सामाजिक कार्यकर्ता अग्नि खनाल, त्रिचन्द्र पौडेल, रमेश हमाल लगायतले मन्तव्य राखेका थिए । प्रतिक शर्मा लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सुदिप लामाले गरेका थिए ।