सम्भोग, उत्तेजना, भ्रम र जान्नैपर्ने पक्ष


-डा सीपी सेडाई, नशा तथा मनोरोग विशेषज्ञ, चितवन मेडिकल कलेज

थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन् । खासगरी सम्भोग इच्छामा कमी आउने, विर्य छिट्टै खस्ने, उत्साह नहुने,  इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर । मानिसमा यौन उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ । जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ ।
सम्भोग इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो । सम्भोग इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर सम्भोग इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन् । खासगरी डिप्रेसन रोगका कारण पनि सम्भोग इच्छामा कमी हुन्छ । हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन् । सम्भोग मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा  इच्छा बढ्ने र चिन्ता पर्दा इच्छा घट्ने हुन्छ ।
राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ । यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ ।
अर्को प्रसंग यौनक्रियामा विर्य छिट्टै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतयः पुरुषमा यौन उत्तेजना छिट्टै आउँछ भने महिलामा ढिलो । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटी हुनुपर्छ । विर्य छिट्टै खस्ने पुरुषको यौन उत्तेजना चाँडैै हराउँछ र महिलामा यौन उत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ । त्यसले गर्दा दम्पतीमा मतभेद आउन सक्छ । त्यसैले दुवैको उत्तेजना आउने उपाय सोच्नु जरुरी हुन्छ । खासगरी नवविवाहित दम्पतीमा यस्तो समस्या देखिन्छ ।
केही बिरामी यौन इच्छा बढी भएको लक्षण बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । हाइपोमोर्निया तथा मेनिया रोग एवं यौन इच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौन इच्छा बढी हुन्छ र धान्न नसक्दा विभिन्न समस्या आउँछ । हाम्रो समाजमा हस्तमैथुन धेरैले गर्छन् तर गोप्य राखेका हुन्छन् ।
खासगरी हस्तमैथुनलाई गोप्य राख्दा किशोरावस्थामा एक मनोवैज्ञानिक असर देखा पर्छ र ‘मैले गल्ती गरेँ’ भन्ने पर्न जान्छ । त्यस्तै निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर पनि डाक्टरकहाँ आउँछन् । विर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा चिन्तित भई धातु रोग भनेर उपचार गर्न आउँछन् । यस बाहेक समलिंगी ९पुरुष–पुरुष र महिला–महिला० बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रुपमा डाक्टरकहाँ आउँछन् ।
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन् । डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्/श्रीमती) लाई शंका गर्दछन् । अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् ।
कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ । सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन । उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन् ।
यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष
–    यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ ।
–    यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ ।
–    यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
–    यौनबारे वैज्ञानिक धारणा आवश्यक छ ।
–    उपचार गरे यौन रोग निको हुन्छ ।
–    यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन ।
–    प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ ।
–    यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
–    महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ ।
–    विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
–    महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन । जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
–    सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ ।
–   यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन् । विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन् ।
–    यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ ।
–   मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन् ।
साभारः स्वास्थ खबर पत्रिका