रारामा पुर्वाधारको चुनौती


अविरल ढकाल, जुम्ला
२२ चैत्र
“कर्णाली संवृद्धिको आधार पर्यटन विकासको पूर्वाधार” भने नाराका साथ कर्णाली प्रदेश सरकारले २०७५ साललाई  कर्णाली-रारा पर्यटन वर्ष मनाउने तयारी गरिरहेकै बेला कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा भने पूर्वाधार अभावले चुनौती देखिएको छ ।

पर्यटकका लागि स्तरीय होटेल, सडक, विद्युत र सञ्चार लगायतका पूर्वाधारको अभाव छ । रारामा पर्याप्त पूर्वाधार नहुँदा पर्यटकलाई लामो समय राख्न नसकिएको पर्यटन व्यवसायीहरुले बताएका छन । रारा तालको किनारमा पर्यटकको सुविधाका लागि डाँफे गेस्ट हाउस र भिलेज हेरिटेज रिसोर्ट सञ्चालनमा आएको भए पनि पर्याप्त भने जस्तो सुविधाहरुछैनन् ।

दुइ होटलमा दैनिक एक सय पर्यटक अट्ने क्षमता छ । माँझघट्ट र लामाचौरमा दुइ दर्जन बढी होटेल सञ्चालन गरिएको भएपनि स्तरीय नहुँदा पर्यटकको रोजाईमा पर्न सकेका छैनन । माझघट्टमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याए पनि मुस्किलले एक दर्जनमात्र पर्यटक अट्न सक्छन ।

दैनिक सय बढी पर्यटक आए खानपिन र बासको समस्या हुने गरेको भिलेज हेरिटेज रिसोर्टका म्यानेजर दीपक रावतले बताउनु भयो  । ‘कोठामा नअटेका पर्यटलाई चौरमा टेन्ट राखेर सुताउनुपर्ने अवस्था छ  ‘राराताल आसपास सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई शौच गर्न समस्या छ ।

मुर्माटप जाने र चुचुमार लेकमा जाने बाटो राम्रो र फराकिलो नहुँदा पर्यटकलाई आउजाउमा समेत सास्ती छ । विद्युत् र इन्टरनेटको समस्या समेत रहेको ‘सोलार’ बाट मोबाइल र क्यामराको ब्याट्री चार्ज गर्नुपर्ने समस्या रहेको उहाँको भनाइ छ ।

रारामा पूर्वाधार निर्माण नभएकाले घुम्न आएका पर्यटकहरू दुइ दिन भन्दा बढी राख्न नसकिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताउनुहुन्छ । उहाँका अनुसार रारामा तीनवटा मात्र रबरको डुंगा छन् । तालमा रमाउन पर्यटकले पालो पर्खनु पर्ने अवस्था रहेको रोकायाले बताउनुभयो ।

पर्यटकलाई सुविधायुक्त होटलको व्यवस्था गर्न नसक्नु सबैभन्दा ठूलो समस्या रहेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताउनुहुन्छ ।तीन डुंगा रारा राष्ट्रिय निकुञ्जको कार्यालय सञ्चालन गर्दै आएको छ ।रारा आउनका लागि हवाई र सडक यातायात दुवैको व्यवस्था भए पनि भरपर्दो छैन । नेपालगन्जदेखि मुगु विमानस्थलसम्म आउन ३५ मिनेटको हवाई दूरी छ । विमानस्थलबाट रारासम्म गाडीबाट आधा घण्टा र पैदल २ घण्टा लाग्ने गरेको छ । त्यस्तै कर्णाली राजमार्ग हुँदै सडक मार्गबाट डेढ दिन लगाएर मात्र रारामा पुग्न सकिन्छ ।

सवारी साधनमार्फत नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला नाग्मा सिंजा हुँदै रारा पुग्न सकिन्छ । सडक मार्गबाट आउने पर्यटकहरूले बाटोमा राम्रो होटेलको व्यबस्था नभएको गुनासो गर्दै आइरहेका छन । हवाई मार्गबाट नेपालगन्ज हुँदै रारा आउजाउ गर्न र दुइ दिनसम्म घुम्न करिब २५ हजार खर्च हुने गरेको छ ।

विमान कम्पनीहरूले नेपालगन्जदेखि रारा आउने हवाई भाडा ८ हजार ५ सय र फर्किंदा ५ हजार रुपैया लिने गरेका छन । नेपालगन्ज-सुर्खेत हुँदै गाडीमार्फत रारा पुग्न एकतर्फी भाडा २ हजार ५ सय छ । भिजिट कर्णाली र रारा एडभेन्चर प्रालिले रारा भ्रमणमा आउने पर्यटकका लागि नेपालगन्जबाट व्यवस्थापनको काम गर्दै आइरहेको छ ।

त्यस्तै सुदूरपश्चिमबाट पनि पैदल मार्ग हुँदै रारा पुग्न सकिन्छ । साँफेबगर-बाजुरा-मार्तडी-परेखे लेक हुँदै बाजुरा र कोल्टीबाट रारा आउन एक साता लाग्ने गरेको छ ।

समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइमा अवस्थित रारा ताललाई स्वर्गको अप्सरा नामले रारामा पुग्ने पर्यटकले व्याख्या गर्ने गर्छन । यसको गहिराइ १ सय ६७ मिटर छ । त्यस्तै रारा १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । रारा ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । नेपालको सवै भन्दा ठुलो ताल भए पनि प्रचार प्रसारको अभावले रारा तालको ओझेलमा परेको हो ।

२०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तीन प्रकारका हिमाली असला माछा, दुइ सय २४ प्रकारका वनस्पति र २ सय ७२ प्रकारका चरा पाइन्छन । प्राकृतिक सौन्दर्य, जडीबुटी, वन्यजन्तु, चरा, असला माछा लगायतले राराको गौरव बढाएको निकुञ्जका अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।

निकुञ्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावर सहित रेडपान्डा पाइन्छ । गुच्ची च्याउ, पाँचऔंले कटुकी, सुगन्धवाल लगायत विभिन्न प्रकारका जडीबुटीसहित कोणधारी जंगल निकुञ्जको आकर्षण रहेको उहाँले जानकारी दिनुभयो ।

रारामा पर्यटकीय सम्भावनाका साथै खेलकुद र धार्मिक तिर्थस्थलको सम्भाव्यता रहेको जानकारहरू बताउँछन । रारा ताल वरिपरि म्याराथुन लगायतका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । मुर्माटप चुचुमारेदेखि मिलीचौरसम्म प्याराग्लाइडिङ गर्न सकिने जानकारहरुको भनाइ छ । ‘रारामा विभिन्न खेलकुद गर्न सकिने सम्भावना छ । सरकारको नजर नपुग्दा ओझेलमा परेको देखिन्छ ।’

रारामा हरेक महिना एउटा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सके पर्यटकको ओइरो लाग्छ ।’ अन्तराष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकाया बताउनुहुन्छ । ,त्यस्तै रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा होमस्टे सञ्चालन, फलफूल र जडीबुटी खेती गर्नसके स्थानीयको आयस्रोतमा वृद्धि हुने सम्भावना छ । माटो सुहाउँदो अन्नबाली र फलफूलको अर्गा्निक खेतीमा जोड दिनुपर्ने मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहनीले बताउनु भयो  ।

यसैगरी रारा ताल वरपर करिब ७ बढी धार्मिक मठमन्दिरहरू छन । ठाकुरज्यूको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता मन्दिर भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन । रारा आएका पर्यटकलाई धार्मिक स्थलसम्म र्पुयाउन सके पर्यटकीय र धार्मिक महत्त्वसमेत बढ्ने  मुरमा गाउँका बिर्खबहादुर रोकायाले बताए । रारालाई धार्मिकस्थलको रूपमा विकास गर्न सके भारतीय पर्यटकको ओइरो लाग्ने उनले बताए ।

दुइवर्षता रारा भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । रारा राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष१२ हजार बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । त्यस्तै डेढसय पर्यटकले रारा भ्रमण गरेका छन । चालु आर्थिक वर्षो हालसम्म करिब ८ हजार बढी पर्यटकले राराको भ्रमण गरिसकेका छन । पुर्वाधारको  समस्यका कारण बाहृय पर्यटकको आकर्षण बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।आन्तरिक पर्यटकको संख्यामा बर्षेनी  वृद्धि भइरहेको  छ आन्तरिक पर्यटकबाट प्रवेश शुल्क लिने गरिएको छैन ।   विदेशी न्यून आउने गरेकाले राजस्वमा वृद्धि हुन नसकेको छैन ।

आर्थिक समृद्धिका लागि रारा कर्णाली पर्यटन वर्षमनाउन लागिएको  कर्णाली प्रदेशका मन्त्रीहरूले बताएका छन । मंगलबार बिहान पर्यटकीय गन्तव्य रारा तालको किनारमा आयोजित पत्रकार सम्मेलनमा राज्यबाट पछि परेको, गरिबी र भोकमरीले पीडित बन्दै आएको कर्णाली क्षेत्रको समृद्धिलाई पर्यटनबर्षंग जोडिएको उनीहरूले बताए । रारा कर्णाली पर्यटन बर्षा ५ लाख पर्यटक कर्णालीमा भिर्त्याउने लक्ष्य रहेको कर्णाली प्रदेशका वन तथा पर्यटन मन्त्री नन्दसिह बुढाले बताउनु भयो ।

 यसबाट आर्थिक रुपले फाइदा लिनसके मुगु र कर्णाली प्रदेशको हित हुने बताउनु भयो । रारामा पर्यटक भित्रन थालेपछि मुगुको स्थानीय उत्पादन बिक्री हुने, लगानीकर्ता आउने र युवाहरूले रोजगार पाउने  ।  पर्यटनले गर्दा बिदेशी मुलुक आर्थिक समृद्धीमा लम्किएका हुन निजी लगानीबाट निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा होमस्टे संचालन गर्न जरुरी छ ।’ रारामा आन्तरिक तथा बाहृय पर्यटक रमाउने खालको पुर्वाधार निर्माणको लागि प्रदेश सरकारले ५ बर्षो गुरुयोजना तयार गरेको उहाँको भनाइ छ ।

वैशाख १ गते रारा पर्यटन वर्षउद्घाटनको क्रममा सञ्चार क्षेत्रमा पहुँच र्पुयाउन फ्री वाइफाई जडान गरिने तयारी छ । लुम्बिनी हुँदै डोल्पा शे-फोक्सुन्डोदेखि रारासम्म र त्यहाँबाट मानसरोवरसम्म पर्यटकीय मार्ग निर्माण गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयो  । ‘जुम्लाको सिंजा, मुगुको रारा ताल, डोल्पाको से-फोक्सुन्डो, कालीकोटको पचाल झरना  र हुम्लाको हिल्सालाई प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ, विगतका वर्षरूमा रारामा धेरै सम्मेलन र महोत्सवको आयोजना गरिएको भए पनि फलदायी हुन सकेन । त्यसैले प्रदेश सरकारले आफै अभियानको सुरु गर्न थालेको हो ।’ रारा राष्ट्रिय निकुञ्ज अर्न्तर्गत मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले अर्गानिक तरकारी र फलफूल उत्पादनलाई जोड दिनुपर्ने उहाँको सुझाव छ । रारा पर्यटन वर्षसुरु भएको केही महिनामै रारामा विद्युत पुर्‍याउन प्रदेश सरकारले पहल गर्ने बताउनु भएको छ ।