तपाई पनि चुकाउनी बनाउने की ?


फोटोः गुगलबाट

चुकाउनी विशेष प्रकारको अचार हो। यो पश्चिमाञ्चल विकास क्षेत्रमा अत्यधिक प्रयोग गरिन्छ। दही र आलुबाट तयार गरिने यो अचारको सुरुआत पाल्पा जिल्लाबाट भएको मान्यता छ।

पाल्पाली नेवार जातिको पूजा, विवाह, पिकनिक तथा अन्य भोजभतेरमा पनि चुकाउनी प्रयोग गरिन्छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रोफेसर राजेश्वर उदय भन्छन्, ‘नेवारी समुदायमा हुने भोजभतेरमा चुकाउनी छुटाइँदैन।’ अहिले चुकाउनीको परिकार सबै जातिले बनाएर खान्छन्।

पाल्पालीहरू जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ चुकाउनी फैलिएको छ।

युवकयुवतीको रोजाइमा पर्ने गर्छ, चुकाउनी। अमिलो र विशेष स्वादको हुने हँुदा गर्मी महिनामा खाजाकै रूपमा पनि चुकाउनी प्रयोग गर्न सकिने प्रोफेसर उदय बताउँछन्। कतिपयले यो परिकारलाई पाल्पाली अचार पनि भन्ने गरेका छन्।

चुकाउनी बनाउन आवश्यक सामाग्री 

  • ५०० ग्राम आलु, १०० ग्राम प्याज, एक लिटर दही प्रयोग गरेर चुकाउनी बनाउन सकिन्छ।
  • मेथी, बेसार, टिमुरको धुलो, खुर्सानीको धुलो, पिसेको लसुन, नुन, तोरीको तेल, हरियो धनियाँ। (आवश्यक मात्रामा )

बनाउने तरिका

  • आलु उसिनेर बोक्रा निकाल्ने र तरकारीको साइजमा काटेर हाल्ने
  • धनियाँ र प्याज काटेर हाल्ने
  • आलुमा आवश्यक मात्रामा टिमुरको धुलो, खुर्सानी र नुन राखेर मोल्ने।
  • दही हालेर घोल्ने
  • प्याज, हरियो खुर्सानी मिसाउने
  • ६/७ चम्चा तोरीको तेल तताउने, मेथी फुराउने र आलु र दहीको मि श्रणमा झान्ने।
  • तयार भएको परिकारमा हरियो धनियाँ काटेर छर्कने, अब चुकाउनी तयार भयो। (आलु र दहीलाई केही बेर भिज्न दिँदा अमिलो स्वाद आउँछ।  साभारः अन्नपूर्णपोष्ट