सरकार फेर्ने सहमति भएकै हो: खनाल


j_n_khanal_copy2सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्रीले बजेट पारित भएपछि सरकारको नेतृत्व परिवर्तन गर्ने अनौपचारिक सहमति भएको बताएका छन्।

सत्ता-साझेदार एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति भएको भन्ने अपुष्ट खबर आइरहँदा नेता झलनाथ खनालले त्यसबारे मुख खोलेका हुन्।

धरमराएको सरकारलाई जोगाइदिएको दुई प्रमुख सत्तासाझेदारबीचको नौ बुँदे लिखित सहमति हुँदा नेतृत्व परिवर्तनबारे भने अनौपचारिक सहमति भएको उनको भनाई छ।

सहमतीय कि बहुमतीय?

नौँ बुँदे लिखित सहमति प्रधानमन्त्री निवासमा भएको थियो।

सहमतिमा हस्ताक्षर हुँदाका एक साक्षी पूर्वप्रधानमन्त्री खनालले भने, “सरकारले बजेट पेश गर्ने र त्यो पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व दिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएकैले केही साताअघि सरकारमाथि उत्पन्न संकट टरेको भन्ने समाचारहरु आएका थिए।

तर राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा प्रचण्डलाई सरकारको नेतृत्व दिन तयार रहेको प्रधानमन्त्रीनिकट नेताहरुले बताउने गरेका छन्।

नेता खनालका अनुसार नेतृत्व परिवर्तन गरेपछि सहमति खोज्ने कुरा भएको हो।

प्रधानमन्त्रीको प्रश्न

नौ बुँदे सहमति हुँदा माओवादी केन्द्रका नेता तथा मन्त्री हरिबोल गजरेल पनि प्रधानमन्त्री निवासमै थिए।

राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसको विकल्प प्रचण्ड भएको ठम्याइका साथ सरकारको नेतृत्व परिवर्तनको सहमति भएको उनको भनाई छ।

मन्त्री गजुरेलले भने, “अहिले तुरुन्तै सत्ता परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा त्यत्रो नेताहरुबीच भएकै हो।”

उनका अनुसार प्रधानमन्त्रीले आश्वस्त पार्दै ‘मैले छोड्दा वामपन्थीलाई नै छोड्ने हो, अरुलाई छोड्न सक्दिन’ भनेका थिए।

उनका अनुसार त्यसबारे लिखित खाका तयार गरिएको थियो।

तर प्रधानमन्त्रीले ‘मप्रति यत्रो अविश्वास?’ भनेर चित्त दुखाएपछि प्रचण्डकै सहमतिमा त्यसमा हस्ताक्षर नगरिएको मन्त्री गजुरेलको भनाई छ।

साभारः विविसी