अनुमान फेल खाएपछि लिङ्ग काटिदिए


एजेन्सी: दुईजना ‘झोलाछाप डाक्टर’ले आफ्नो अनुमान फेल खाएपछि एउटा क्रुर घटना गराएका छन् । भारतको झारखण्ड राज्यस्थित चतरा जिल्लास्थित झटखोरीमा दुई ‘झोलाछाप डाक्टर’ले एक नवजात शिशुको लिङ्ग काटिदिएका छन् ।

जसले गर्दा नवजात शिशुको ज्यानै गएको छ । आरोपी ती ‘कथित डाक्टर’हरुले आफ्नो झुठ लुकाउनका लागि नवजात शिशुको लिङ्ग नै काटिदिएका हुन् ।

बलिया गाउँको गुड्डी देवीको पेटमा आठ महिनाको गर्भ थियो । २४ अप्रिलमा उनलाई पीडा भएपछि परिवारजनले नजिकको ओम क्लिनिकमा लगे ।

यहाँ क्लिनिक सञ्चालक अरुण र अनुजले पेटको अल्ट्रासाउन्ड गरेर गर्भमा बालिका रहेको बताए ।  तर जब गुड्डीले छोरालाई जन्म दिइन् तब उनीहरुले आफ्नो क्रुर व्यवहार देखाउँदै शिशुको लिङ्ग नै काटिदिए। अत्यधिक रक्तश्राव भएपछि शिशुको ज्यान गयो ।

परिवारजनलाई प्रलोभनमा पारे 

लिङ्ग काटिँदा शिशुको ज्यान गएपछि शवलाई झाडीमा फ्याकियो । तर डाक्टरहरुले परिवारजनलाई अपाङ्गता भएकी बालिका जन्मिएपछि मृत्यु भएको भनेर ढाँटेका थिए।

पीडित परिवारका सदस्यले विश्वास गरेनन् । जब उनीहरु शिशुको शव फालिएको स्थानमा गएर हेरे, तब छाँगाबाट खसे जस्तै भए । झाडीमा लिङ्ग काटिएको शिशुको शव अलपत्र थियो । त्यसपछि उनीहरुले हङ्गामा शुरु गरे । यस्तोमा झोलाछाप डाक्टरहरुले एक लाख रुपैयाँ दिएर मामिला ढाकछोप गर्ने कोशिशमा जुटे तर परिवारजन तयार भएनन् ।

हत्याको मामिला दर्ता, आरोपी फरार

पीडित परिवारले मंगलवार राति पुलिसलाई घटनाको सूचना दिए । जसमाथि कारबाही थाल्दै प्रहरीको टोली बुधबार बिहानै क्लिनिकमा पुग्यो तर त्यो बेलासम्म दुवैजना फरार भइसकेका थिए ।

पुलिसले नर्सिङ्ग होमलाई सिल गरिदिएको छ । अनुज कुमार र अरुण कुमारविरुद्ध हत्याको मामिला दर्ता गरेर जाँच थालिएको छ । प्रदेशका स्वास्थ्य मन्त्री रामचन्द्र चन्द्रवंशीले सिभिल सर्जनलाई जाँचको रिपोर्ट दिन निर्दशन दिएका छन् । दुवै आरोपी बिहारको बाराचट्टी गाउँका बासिन्दा हुन् ।

अवैध क्लिनिक

झटखोरी अस्पतालका चिकित्सा प्रभारी डा. डीएन ठाकुरले १३ अप्रिलमा अवैध रूपमा चलिरहेका कयौँ क्लिनिकमा छापा मारेर कारबाही चलाएका थिए । यस क्रममा उनी ओम क्लिनिक पनि पुगे । अपरेशन रूम समेत अन्य सुविधा र उपकरणको पनि जाँच गरे ।

यस क्रममा क्लिनिक सञ्चालक अनुज कुमार पनि त्यहीँ थिए । जो सँग ठाकुरले तीन दिनभित्र आवश्यक कागजात ल्याउन भने । आरोपीले कागजात उपलब्ध नगराई क्लिनिक चलाइरहे ।