श्रमिक संघको अध्यक्षमा खान


मिलन श्रेष्ठ ।
सुर्खेत, १२ चैत ।

सुर्खेत जिल्लामा छरिएर रहेका निर्माण कार्यमा संलग्न श्रमिकहरुलाई संगठित गरी नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ गठन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन मातहतमा रहने गरी शुक्रबार वीरेन्द्रनगरमा मोहम्मद सकिबुल खानको अध्यक्षतामा १३ सदस्यीय पहिलो कार्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सीताराम चौधरी, महिला उपाध्यक्षमा प्रेमी घर्तीमगर, सचिवमा अमिन मियाँ, कोषाध्यक्षमा धर्मराज गन्धर्व र सहसचिवमा  जवाहिर साह रहेका छन् । यस्तै सदस्यमा जयराम विशाल, भविसरा बा¥हघरे, मानबहादुर बैगार, रामबहादुर बैगार, विजन ठाकुर, विश्व थापा र सुरेन्द्र ठाकुर रहेका छन । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले मजदुर, श्रमिक र कृषकको हक अधिकारका पक्षमा  आफ्नो पार्टीले सँधै आवाज उठाउने बताए  । श्रमिकका  साझा समस्या समाधानका लागि पहिलो पटक आवाज उठाउने पार्टी नेपाली कांग्रेस नै भएको उनले जिकिर गरे ।
यस्तै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेबी गुरुङले मजदुर आफैले बनाउने ठूला–ठूला अस्पतालमा उपचार गर्न नपाउने, मजदुरले बनाएका विद्यालयमा मजदुरका छोराछोरीले नै पढ्न नपाउने विडम्बनापूर्ण अवस्था रहेको उल्लेख गरे । नेपाल टे«ड युनियन कांग्रेसका मध्यपश्चिम क्षेत्रीय उपाध्यक्ष गोपालकृष्ण गिरीले काम आफैमा सानो ठूलो नहुने भन्दै श्रमिकको पसिना सुक्न नपाउँदै उचित पारिश्रमिक पाउने अवस्था नभएसम्म श्रमको उचित सम्मान नहुने बताए ।
नेपाल टे«ड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष जयबहादुर वीसीले एक मजदुरको समस्या सबै मजदुरको साझा समस्या हुनुपर्नेमा जोड दिंदै एकापसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्न सकेमा मात्र समान हक स्थापित गर्न सकिने दाबी गरे ।