सल्यानमा फस्टाउँदै जडिबुटी खेती, धान फल्ने खेत मासेर वडा अध्यक्षले जडिबुटीका विरुवा रोप्दै


रमेश कुमार वली

सल्यान १ साउन । सल्यानमा कृषकहरु जडीवुटी खेतितर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रुपमा अन्नवाली लगाउदै आएका कृषकहरु जडिवुटीबाट राम्रो आम्दानी हुनेभएपछि अन्नवाली मासेर जडवुटी खेतिगर्न थालेका हुन् ।

कुरिलो, तेजपात, काउलो, रोजमेरी लगाएतका जडिबुटीका लागि सल्यानको हावापानी अनुकुल भएकोले यसको विस्तार हुँदै गएको छ । प्राकृतिक रुपमा सामुदायिक वनहरुमा पाइने टिमुर कृषकहरुले निजी जग्गाको खेतवारीका डिलमा विस्तार गरी आय–आर्जन गर्दै आएका छन्

जडीवुटीबाट राम्रो आम्दानी हुनेभएपछि कृषकहरु सामुहिक उत्पादन थालेका छन् । छत्रेश्वरी गाउपालिका २ मा रुपान्तरण जडीवुटी कृषक समुह र लालीगुरास जडीवुटी कृषक समुह वनाएर जडीवुटीको उत्पादन शुरु गरिएको छत्रेश्वरी गाउपालिका २ का वाडाअध्यक्ष प्रेम वहादुर खड्काले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा टिमुरको मुल्य उच्च भएकोले यो वर्ष यस क्षेत्रका कृषकहरु टिमुर तथा अन्य जडीवुटी खेतिमा आर्कषित भएका छन् ।” वडाध्यक्ष खड्काले भन्नुभयो “कृषकहरुले एक क्वीन्टल टिमुर ६० हजार रुपैया भन्दा वढि मुल्यमा विक्रि गरेका छन् ।”
“परम्परागत रुपमा खेतिले पारिवारको गर्जो टार्न गाह्रो थियो टिमुरबाट राम्रो आम्दानी भएपछि मैले पनि एक विगाह भन्दा वढि जग्गामा टिमुर खेति गरेको छु ।” वडाध्यक्ष खड्काले भन्नुभयो । “आफनो वडालाई टिमुरगाउको रुपमा चिनाउने लक्ष छ यसका लागि गाउपालिकाबाट वजेट विनियोजन गरेको छु ।” वडाध्यक्ष खड्काले भन्नुभयो ।

समुहमा सवैलाई टिमुर लगाउने निर्णय गरेर खेति शुरु गरिएको रुपान्तरण जडीवुटी कृषक समुहकी अध्यक्ष कमला केसीले जानकारी दिनुभयो । “हाम्रो समुहमा १५ जना छन् प्रत्येक सदस्यले वर्षमा डेढ देखि २ क्वीन्टल सम्म टिमुर उत्पादन गर्छन् ।” अध्यक्ष केसीले भन्नुभयो ।

लालीगुरास जडिवुटी उत्पादन समुहमा रहेका ३२ जना कृषकहरुले पनि जडीवुटी खेतिबाट राम्रो आम्दानी गरिरहेको अध्यक्ष हिरालाल वलीले जानकारी दिनुभयो । “हाम्रो समुहमा आवद्ध सवैले ५० केजी देखि २ सय केजी सम्म टिमुर उत्पादन गरिरहेका छन् यसलाई वृद्धि गर्ने लक्ष्य छ ।” अध्यक्ष वलीले भन्नुभयो ।

टिमुरका वेर्ना कहाँ पाइन्छ, कसरी खेती गर्ने, कसरी संकलन र भण्डारण गर्ने भन्ने थाहा नपाएका किसानलाइ जिल्ला वनस्पति कार्यालय मुलपानी सल्यानले आवश्यक ज्ञान, प्राविधिक तथा आर्थिक सहयोग समेत गरेपछि किसानहरु झन यस तर्फ उत्साहित भएका हुन् ।

“एक वर्ष अगाडी वनस्पती कार्यालय कपुरकोटबाट जडिवुटी समूह गठनुभयो । हामी समूहमा आवद्ध ३२ जना किसानले मकै बारी मासेर, टिमुर रोपेका छौँ ।” रातामाटा जडिबुटी कृषक समूहका अध्यक्ष जित बहादुर ओलीले भन्नुभयो ।

जडिबुटीको भण्डार मानिने सल्यानमा उत्पादन हुने टिमुर, रोजमेरिलाइ प्रशोधन गरेर तेल निकाल्नका लागी जिल्लामै उद्योग पनि खुलिसकेको छ । झण्डै एक करोडको लगानीमा जिल्लाको श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापनाभएपछि जडीवुटी खरिद विक्रिका लागी जिल्ला वनस्पति कार्यालय र स्थानीय सरकारको पहलमा सोझै उद्योगसंग किसानको सम्झौता भएको छ ।

पाँचवटा जडिबुटी कृषक समूहलाइ जिल्ला वनस्पती कार्यालयले टिमुर खेतीका लागी आवश्यक पर्ने औजार र सामग्रीहरु वितरण गरेको छ । टिमुर टिप्न प्रयोग हुने सिकेचर एक सय २५ थान, छालाको पञ्जा एक सय २५ जोड, त्रिपाल ७० थान र प्लाष्टीक पोखरिको लागि प्लाष्टीक २५ थान गरेर एक लाख ६८ हजार बढिको सामग्री किसान समूहलाइ निःशुल्क वितरण गरिएको कार्यालयका सूचना अधिकारी कृष्ण पुनले जानकारी दिनुभयो
कसरी हुन्छ टिमुरको गुणस्तर कायम

कार्यालय प्रमुख डम्बर कार्कीका अनुसार फल नपाक्दै टिप्नु हुदैन् । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिर सम्म फल संकलन गरी सक्नु पर्दछ । फल संकलन गर्दा घाम लागेको वेलामा मात्र संकलन गर्नु पर्दछ । संकलित फललाई १ दिन घाममा सुकाएर त्यस पछि सुख्खा हावा चल्ने छहारीमा करिव १ हप्ता जत्ति सुकाए पछि भण्डारण गर्न योग्य हुन्छ ।’
टिमुर संकलन गर्दा हांगा ,पात,तथा फोहर सहित संकलन गर्ने प्रचलन रहेकाले यसो गर्दा टिमुरको गुणस्तरमा ह्रास हुने हुँदा फललाई अनावश्यक वस्तुवाट अलग गरी सफा राख्नुपर्ने प्रमुख कार्कीको भनाइ छ । “टिमुर राम्रोसंग सुकी सकेपछि जुटको वोरामा प्याक गरी हावा खेली रहने कोठामा भण्डारण गर्नु पर्दछ ।” कार्यालय प्रमुख कार्कीले भन्नुभयो ।

सल्यान जिल्लाबाट मात्रै गत आवमा ३ लाख ५३ हजार ७ सय २ केजी टिमुर निर्यात भएको जिल्ला वनकार्यालय सल्यानले जनाएको छ । यसबाट मात्रै २५ लाख ४६ हजार ६ सय ५५ रुपैयाँ राजस्व संकलन भएको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिए