दुःख पाउनु पनि वरदान रहेछ


दुःख पाउनु पनि वरदान रहेछ

आनी छोइङ डोल्मा !
वास्तविक नाम डोल्मा छेक्विद !
तर, उनलाई सबैले भुमो नामले बोलाए । भोटिया भाषामा छोरीलाई भुमो भनिन्छ । उनी सधैं भुमो नै रहिन्– सबैकी छोरी ।

तर आफ्नै बाबुकी प्रिय छोरी कहिल्यै बन्न सकिनन् । सधैं बाबुको न्यानो मायाका लागि तड्पिरहिन् । यो सत्यले उनलाई जीवनकै कालो छाया बनेर उनलाई पछ्याइरहेको छ ।

आनी सन् १९७१ जून ४ मा जन्मिइन्– बौद्धमा । उनी परिवारकी सबैभन्दा जेठी छोरी हुन् । आमाबाबुसँग कोठाजस्तो देखिने सानो घरमा बस्थिन् । बाबु मूर्ति बनाउने काम गर्थे, आमा उनलाई सहयोग गर्थिन् । त्यही घरमा सबै काम हुन्थे– काम गर्ने, खाना पकाउने, खाने र सुत्ने । साँघुरो ठाउँ भए पनि उनीहरूलाई खानका लागि भने दुःख थिएन । जसोतसो बाबुले मूर्ति कुँदेर भए पनि परिवारको गर्जो टार्थे ।

तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिस्टहरूले आफूसामु नझुक्नेलाई मार्न र थुन्न थालेपछि उनका आमाबाबुले सन् १९५० मा छुट्टाछुटै रूपमा थातथलो छाडेका थिए । त्यहाँबाट सबै भारत गएपछि उनीहरूको भेट पनि भारतमा भएको थियो । पहिली श्रीमती बितेपछि बाबुले आनीकी आमालाई दोस्री श्रीमतीका रूपमा भित्र्याएका थिए । आनीपछि अरु दुई भाइ जन्मिए ।

उनी पाँच वर्ष नपुग्दै आमाले घरको कामधन्दा सिकाउन थालिहालिन् । “छोरी मान्छे भएपछि घरको काम सिक्नुपर्छ,” आमा सधैं भन्ने गर्थिन् ।
जेठी छोरी भएकीले घरका सबै जिम्मेवारी उनकै काँधमा थियो । सानै भए पनि सकिनसकी उनी घरकाममा निपुण भइसकेकी थिइन् । आमाले जस्तै माया दिएर भाइहरूलाई हुर्काइन् ।

hqdefault

उनका बाबु हिंस्रक प्रवृत्तिका थिए । दिनभरि काम गर्थे र राति रक्सी खाएर आउँथे । त्यसपछि श्रीमतीलाई नीलडाम हुने गरी कुट्थे । कुट्दाकुट्दै थाकेर चुर भएपछि भुइँको ओछ्यानमा सुत्न जान्थे ।

त्यसपछि आमाछोरी एक छेउमा च्याप्प टाँसिएर सुत्थे । चिसोले निद्रा खुलेपछि दुवै जना आ–आफ्ना ओछ्यानमा सुत्न जान्थे । श्रीमती आएको चाल पाएपछि कामवासनाले लिप्त बाबु आमालाई झम्टिन जान्थे । त्यो देखेपछि आनी अर्कोतिर फर्केर सुत्थिन् । उनलाई त्यो दृश्य हेर्नै मन लाग्दैनथ्यो । त्यतिबेला उनी ६ वर्षकी थिइन् । त्यति सानै उमेरमा उनले बाबुको हरकतबारे थाहा पाइसकेकी थिइन् । त्यसपछि उनी सधैं बाबुदेखि टाढा भाग्न खोजिन् तर सकिनन् ।

कुनै दिन र समय हुँदैनथ्यो आनीले कुटाइ नखाएको । मात्र बहाना चाहिन्थ्यो पिट्नलाई । बाबुको त्यस्तो हिंस्रक व्यवहार देखेकी आनीलाई वैवाहिक जीवनदेखि नै घृणा लाग्न थाल्यो ।

आमा र बाबुबीच २५ वर्षको फरक थियो । त्यसैले पनि होला– उनकी आमा सधैं हिंसा सहेर बस्न बाध्य थिइन् । आफूले पीडा सहेरै पनि आमाको प्रयास भने सधैं छोरीलाई बचाउने नै हुन्थ्यो । तर, उनका हरेक प्रयास निरर्थक सावित हुन्थे ।
आनीले जेनतेन ५ कक्षासम्म पढ्ने मौका पाइन् । उनलाई साह्रै पढ्ने रहर थियो । भाइ हेर्ने भनेर बुबाले विद्यालय नै जान बन्द गरिदिएका थिए । यो कुराले उनको मनभित्र रिसको आगो बलिरहेको थियो । तर, पनि उनी केही गर्न सक्दैनथिन् ।
सानै उमेरमा हिंसा देखेकी र सहेकीले उनको स्वभाव पनि अलि आक्रामक नै थियो । सधैं बाबुबाट कसरी बच्ने भन्ने उनको सोच रहन्थ्यो । जति सोचे पनि उनी जहिले पनि कुटिनु नै पथ्र्यो । आमामाथि भएको हिंसा टुलुटुलु हेर्नुको अर्को विकल्प थिएन आनीसित ।

आनीको यात्रा

घरेलु हिंसाले आजित आनीको बालमनले जिन्दगीभर विवाह नगर्ने वाचा ग¥यो । उनले वाचामात्र गरिनन्, त्यसलाई पूरा गरेरै छाडिन् । १३ वर्षकै कलिलो उमेरमै आनी बन्न गुम्बा बस्न गइन् । आमाको दुःखद वैवाहिक जीवन देखेर जीवनदेखि नै विरक्त भइसकेकी आनी हरदम कसरी वैवाहिक जीवनबाट टाढा रहन सकिन्छ भन्नेबारे सोचिरहन्थिन् । त्यही क्रममा उनले आनी बनेर गुम्बामा गएर बसेपछि विवाह गर्नु पदैन भन्ने कुरा थाहा पाइन् र जीवनकै ठूलो निर्णय लिइन् । त्यो निर्णयले उनका आमाबुबा साह्रै खुसी भए । बाबु बौद्ध धर्मप्रति आस्था राख्थे । यसले पनि उनलाई गुम्बा जान पारिवारिक रोकटोक भएन । सबैको सहमतिमा शिवपुरीका आनी बस्ने ‘नागी गुम्बा’ गएपछि मात्रै उनले सुखानुभूति गर्न पाइन् । उनका लागि त्यो जीवनकै सबैभन्दा खुसीको दिन थियो ।

गुम्बाका सोनाम घुर्मे उनलाई लिन घरै गएका थिए । आनी गुम्बा जान लाग्दा भने आमाबाबु दुःखी भए । “तिमी हामीलाई छाडेर गुम्बा जाने भयौ मेरी छोरी,” बाबुले मलिनो अनुहार बनाउँदै भनेका थिए । आनी बाबुको त्यो वचन कहिल्यै बिर्सन सक्दिनन् । किनभने उनले त्यसैबेला बाबुबाट पहिलो पटक माया महसुस गरेकी थिइन् ।

मन अमिलो पार्दै उनी गुम्बा गइन् । त्यतिबेला आमाले दिएका सुझाव उनी अझै सम्झिन्छिन्, “सबैसँग मिलेर बस्नू, आफूले जे कुरा पनि जानेको नभन्नू, गुरुको आदेश सधैं पालना गर्नू ।”

आमाको त्यस वाणीले उनलाई धैर्यवती बन्न सिकायो । साधारण जीवनबाट आनी बन्नु उनका लागि कम्ती चुनौती थिएन तर सबै चुनौती सामना गर्न तयार थिइन् उनी । घरभित्रको हिंसाभन्दा सयौं गुना राम्रो थियो गुम्बा आनीका लागि । बाबुबाट टाढा हुँदा उनी गदगद थिइन् । गुम्बा–प्रवेश गरेको दिन आफूलाई एकदमै भाग्यशाली ठान्दै उनी भन्छिन, “त्यो मेरा लागि जति खुसीको क्षण थियो, उति नै धार्मिक भनाइअनुसार कर्म सुधार्ने मार्ग पनि थियो ।”

आनी बन्नुअघि पहिले उनको टुप्पी काटियो । अनि नयाँ नाम दिइयो– आनी छोइङ डोल्मा ।

राम्रोसँग अक्षर चिने पनि उनलाई त्यो नाम उच्चारण गर्न अप्ठ्यारो भइरहेको थियो । कसैले नाम सोध्दा नडराइकन भन्न उनले नामको सही उच्चारण गर्न पनि सिकिन् । उनी मनबाट पूर्ण रूपले आनी बनिसकेकी थिइन् । मात्र सिक्न बाँकी थियो– आनीले लिनुपर्ने दीक्षा । गुरु ‘टुल्कु उर्गेन रिम्पोछे’को सहयोगमा उनी आनी बन्न सफल भइन् । गुरुलाई आनी पितासरह सम्मान गर्थिन् ।
जीवनले नयाँ मोड लिएपछि उनी स्वकर्म सुधार्न सफल भइन् । शालीन र शान्त आनी बनिन् । तबमात्र उनले जीवनको सही अर्थ बुझिन् । आनी भएपछि उनको जीवनले नयाँ मोड लियो ।

नदेखेको सपना
पहेंलो र गेरुवा वस्त्र पहिरेकी, कपाल मुण्डन गरेकी आनीका ठूला सपना केही थिएनन् । जीवनदेखि आजित मान्छेलाई सपना देख्ने रहर पनि हुँदैन । त्यसमाथि गायक बन्ने त उनले कल्पनामा पनि चिताइनन् । तर, उनी एक सफल र चर्चित गायिकाका रूपमा संसारभर चिनिइन् ।

आफूले पढ्न नपाएकोमा उनीभित्र आक्रोश थियो । आनी भएर बाहिरी संसार छिरेर काम गर्नु र त्यसमा पनि गीत गाउनु– उनलाई कम्ती चुनौती थिएन ।

सन् १९९४ मा अंग्रेजी गितारवादक स्टिम टिब्बेट्स गुम्बा अवलोकन गर्न आएका थिए । गुम्बामा नित्य–मन्त्रलाई लयमा ढालेर गीत गाउने आनीहरूको काम हुन्थ्यो । टिब्बेट्स आनीको लयबद्ध मन्त्रोच्चारण सुनेर प्रभावित भए । त्यो सुनेपछि उनले गीत रेकर्ड गर्न लगाए र अमेरिका लगेर संगीत भरे । त्यो गीत ल्याएर आनीलाई सुनाए । त्यसपछि उनले आनीलाई गीत गाउन उत्प्रेरित गरे ।
“त्यतिबेला केही सोच्नै सकिनँ,” आनी भन्छिन्, “सबै सपनाजस्तै लागेको थियो । सबैको अनुरोधमा म गीत गाउन सहमत भएँ ।”

टिब्बेट्सकै सहयोगमा उनले नेपालमै दुई वटा गीत रेकर्ड गरिन् । ती गीत अमेरिका लगेर मिक्सिङ गरियो । त्यसपछि सुरु भयो उनको गायनयात्रा । त्यतिन्जेलसम्म आनी बौद्ध पारखीका मन–मुटुमा बस्न थालिसकेकी थिइन् ।
दर्जनौं गीतमा स्वर दिइसकेकी आनीको पहिलो गीति एल्बम ‘छो’ हो । उनको पहिलो एल्बम नेपालमा रेकर्ड भए पनि विदेशमा रिलिज भएको थियो । त्यसपछि उनले नेपालमै गीत गाउने मात्र नभएर रिलिज पनि गर्न थालिन् ।

सुरु–सुरुमा उनले बौद्ध मन्त्रलाई लयमा गाइन् र पछि मात्रै बुद्धको सन्देश दिँदै आध्यात्मिक गीत गाउन थालिन् । आनी भएर भौतिक संसारमा आएर गीत गाउनु चानचुने कुरा थिएन उनका लागि । यो पेसाबाट आनीले राम्रो र नराम्रो दुवै आलोचना खेप्नुप¥यो । कतिले गीत गाउनु गलत भने त कतिले उनको स्वरको खुलेर प्रशंसा गरे । जसले जे भने पनि गायन क्षेत्रमा आनीको पाइला धेरै अघि बढिसकेका थिए । कुनै प्रकारले पनि उनको पाइला रोकिने थिएनन् र रोकिएनन् पनि । “मैले आध्यात्मिक गीत गाइरहेकी छु भने किन डराउनु भन्ने सोच आयो,” उनले भनिन् ।

उनले गाएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीत सबैभन्दा बढी चर्चित भयो । नेपालमा मात्रै नभएर विदेशमा समेत यसले तहल्का मच्चायो । आनीले यो गीतमार्फत ‘सबैले राम्रो आँखाले हेनुपर्छ, चित्त र बोली शुद्ध बनाउनुपर्छ’ भन्ने बुद्धको सन्देश दिएकी छन् ।

जीवनमा दुःखका क्षण पनि कहिलेकाहीँ वरदान साबित हुँदा रहेछन् । सानैमा पाएका दुःखका कारण पनि पछि उनले सुखलाई बेसी अनुभुति गर्न पाइन् । “मान्छे जिम्मेवार र संवेदनशील प्राणी भएकाले दुःख पाउनु पनि वरदान रहेछ,” आनी भन्छिन्, “सानामा दुःख नपाएको भए शायद म गायिका बन्न सक्दिनथें होला ।”
आनीले गीत गाएर थुप्रै पुरस्कार पाएकी छन् । ‘फूलको आँखामा फूलै संसार’ सर्वोत्कृष्ट गीत बन्न सफल भएको थियो । सोही गीतबाट उनले सर्वोत्कृष्ट गायिकाको उपाधिसमेत जितेकी थिइन् ।

त्यसका अतिरिक्त आफ्नो जीवनकथा समेटेर उनले आत्मवृत्तान्तसमेत प्रकाशित गरिन् । बाल्यकालमा भोगेका दुःखलाई उनले पुस्तकमा प्रस्ट रूपले व्याख्या गरेकी छन् । उनले सन् २०११ मा यो पुस्तक बजारमा ल्याएकी हुन् ।

सेवा गर्ने रहर
सानैदेखि सेवा गर्ने रहर थियो उनको । गायन क्षेत्रले उनको त्यो रहर पूरा गरिदिएको छ । आफूले पढ्न नपाएको पीडा उनको मनमा अझै ताजै छ । त्यही पीडा कम गर्न उनले बेसहारा नानीहरूलाई पढाउने रहर पूरा गरिन् । पढ्न नपाएका नानीहरूलाई शिक्षा दिने उद्देश्यले विद्यालय नै खोलिन् । सन् २००० मा ‘आर्यतारा स्कुल’ खोलेर विभिन्न कारणले समस्यामा परेका तथा आमाबाबु गुमाएका ८५ बेसहारा नानीलाई पढाइरहेकी छन् । यतिमात्र नभएर उनले ती केटाकेटीका लागि छुट्टै आवासगृहसमेत खोलिदिएकी छन् । त्यसैगरी उनले मृगौला बिरामीका लागि सन् २०१० मा ‘आरोग्य फाउन्डेसन’ पनि स्थापना गरेकी छन् ।

नयाँ एल्बमको तयारी
थुप्रै एल्बम निकालिसकेकी आनी नयाँको तयारीमा छिन् । एल्बम तयार भइसके पनि व्यस्तताका कारण बजारमा ल्याउन ढिला भएको उनले सुनाइन् । आजभोलि अडियोमात्रै निकालेर नचल्ने र त्यससँगै भिडियोसमेत आवश्यक पर्ने बताउँदै उनले एल्बमको नाम ‘आनीसँग ज्ञानी नानी’ राख्ने बताइन् ।
आनीका गीतले कुनै न कुनै सन्देश बोकेका हुन्छन् । यो एल्बम खासगरी आमा र बालबालिकाका लागि उपयोगी हुने उनको विश्वास छ । १६ वटा गीत रहेको यो एल्बममा बालबालिकाले सुन्ने गीत समाविष्ट छन् । आमाले बच्चालाई फकाउँदा र सुताउँदा गाउने गीत र लोरी पनि समाविष्ट छन् ।

साभारः बाह्रखरी अनलाइन