पुल निर्माण हुदा स्थानियहरु खुसी, नदी तर्दा ‘कुलदेवता’ सम्झिने बाध्यता हरायो


 

सुर्खेत,५ भदौ । सुर्खेत जिल्लाको पश्चिम पञ्चपुरी नगरपालिका–१० स्थीत भेरी नदीमा पुल निर्माण हुदा स्थानिय वासीहरु खुसी हुनुका साथै यसरी पुल निर्माण हुदा पञ्चपुरी नगरपालिका स्थानियहरुलाई बर्षेनि भेरी नदि तर्दा कुल देवता सम्झनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । २०७१ असार अन्तिम साता नदीमा आएको बाढीका कारण पञ्चपुरी नगरपालिका–१० जाने भेरी नदी माथिको झोलुङ्गे पुल बगाउनुका साथै उक्त बाढीबाट ९३ घरपरिवार पूर्ण रुपमा विस्थापित बनेका थिए ।

बर्खे भेलमा भेरी नदीमा डुंगा चढेर सुर्खेत आउनुपर्ने बाध्यता जामुबासीलाई भइरह्यो । डुंगामा भेरी तर्नुभन्दा पहिले कुलदेवतालाई सम्झेर तर्नुपर्ने बाध्यता थियो । तर, अहिले आएर उक्त बाध्यता सधैंका लागि समाप्त भएको छ । अहिले भेरी नदीमाथि पक्की पुल निर्माण सम्पन्न हुने चरणमा छ ।

‘उहिले हामीले ज्यान जोखिममा राखेर डुंगा चढ्ने र पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ पञ्चपुरी–१० जामुका स्थानीय सुरेन्द्र विष्टले लोकान्तरसँग भने, ‘अब त हामीलाई भेरी पारी जान केही समस्या भएन ।’ उनले राति पनि कहिलेकाहीँ भेरी नदी तर्नुपर्ने अवस्था आउने गरेको स्मरण गर्दै पुल बनेपश्चात् जामुका स्थानीयलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिए ।

तिखाकुनामा आएको बाढीले घरबास नै बगाएका स्थानीय रेशम राजीले पुल बनेको देख्दा औधी खुशी लागेको बताए । ‘पुल बन्दा हामी विस्थापितको घाउमा केही भएपनि मल्हम लगाएको छ,’ उनले भने, ‘यसले हाम्रा परिवारलाई जोड्ने र भेरीको खतरा समाप्त पार्ने काम गरेको छ ।’


पक्की पुल निर्माण सम्पन्न नभएपनि त्यहाँका स्थानीयले निर्बाध रुपमा पैदल आवतजावत गर्न थालेका छन् । बाबियाचौरबाट तिखाकुनाको पुलसम्म अटो रिक्साको यात्रा गर्ने गरेका छन् भने त्यहाँबाट पुल पारी पनि अटो रिक्सा लाइन लाग्ने र सेवा दिने गरेका छन् ।

जामुस्थित भेरी नदीमा लुम्बिनी—हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको लम्बाइ ३ सय ५० मिटर रहेको छ । पुलको निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ भने सम्झौताअनुसार पुल बनाउने अवधि ५ वर्षको भएपनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण हुने निर्माण कम्पनीका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए ।

‘हामी लक्ष्यभन्दा पहिले नै पुल निर्माण कार्य सम्पन्न गरिसक्ने छौं,’ उनले भने, ‘अहिले पुलको बीच भागमा प्लास्टर गरिएको र अबको केही दिनमा नै पुल पूर्ण रुपमा तयार हुनेछ ।’ उनले स्थानीयबासी, राजनीतिक दल, काम गर्ने कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल निर्माण कार्यमा तीव्रता आएको प्रतिक्रिया दिए ।

‘अर्को असार मसान्तसम्म समय भएपनि हामीले यही भदौसम्म पुल निर्माण गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘पुललाई सुरक्षाका लागि हामीले ४ सय मिटरभन्दा बढी नदीको किनारामा ढुंगा भरेका छौं ।’

साभारःलोकान्तर खबर ।