नेपाल–चीन सम्बन्ध नयाँ मोडमा


९ चैत्र, बेइजिङ- आपसी सम्बन्धलाई नयाँ मोड दिँदै नेपाल–चीनले पारवहन, यातायात, खुला व्यापारलगायत दसबुँदे द्विपक्षीय सहमति (सम्झौता र समझदारी) गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा सोमबार बेइजिङस्थित चिनियाँ संसद भवन (ग्रेट हल अफ पिपुल) मा दुई देशका प्रधानमन्त्रीबीच वार्तापछि उनीहरुको समुपस्थितिमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा पारवहन तथा यातायात, खुला व्यापार, नेपालमा चिनियाँ बैंक स्थापना तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत छन्।

दुई देशबीच सम्पन्न पारवहन सम्झौतालाई ऐतिहासिक महŒवका रुपमा हेरिएको छ। यसअघि भारत र बंगलादेशसँग पारवहन सम्झौता गरेकामा एउटा कार्यान्वयन नहुँदा नेपाल भारतसँग मात्र निर्भर छ।
प्रधानमन्त्रीस्तरमा वार्तापछि भएको पारवहन सम्झौतामा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन्। यससँगै द्विपक्षीय वार्तामा चिनियाँ पक्षबाट रेल यातायात जोड्नेलगायत प्रतिबद्धता आएको जनाइएको छ।
दोस्रो सम्झौतामा नेपालमा ३२ हजार घरधुरीलाई चीनले सौर्यबत्ती जडान गरिदिनेसम्बन्धी छ। जसअनुसार नेपालको तजबिजमा भूकम्प पीडितलाई प्राथमिकता दिने गरी चीनले सोलार जडान गरिदिनेछ।
त्यसपछिका तीनवटा सम्झौता पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छन्। जसअनुसार तेस्रो सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिदिने भन्ने उल्लेख गरिनेछ। दूतावासका अनुसार चौथोमा उक्त विमानस्थल निर्माणमा २१ अर्ब रुपैयाँ सहुलियत ऋण दिनेछ जसको २५ प्रतिशत अनुदान हुने उल्लेख छ। पाँचौंमा बाँकी लगानी चीनको एक्जिम बैंकले सहुलियत ऋण (२ प्रतिशत ब्याज) मा गर्ने उल्लेख गरिनेछ।
यसैगरी, छैंटौँमा दुई देशका उत्पादन आयात–निर्यात गर्दा ट्रेडमार्क दर्ता गरिने विषयमा छ। सातौंमा नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्बन्धी समझदारी छ। बहुप्रतीक्षित पेट्रोलियम कारोबार सम्झौता थाती राख्दै गरिएको यस समझदारीअनुसार चीनले नेपालका कहाँकहाँ ग्यास तथा पेट्रोल खानी छन् भनी अध्ययनमा आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।
आठौंमा करिब ५ सय वस्तु आयात–निर्यात खुला गर्नेसम्बन्धी काम थाल्ने समझदारी छ भने नवौं सम्झौतामा दुई देशबीच बैंकिङ रेगुलेसनबारे छ जसअनुसार दुई देशका बैंकबीच सूचना तथा शाखा सेवा आदानप्रदान गरिने जनाइएको छ।
दसौं सम्झौतामा नेपालको हुम्लास्थित हिल्सा लेक र तिब्बतको यारी जोड्न चीनले पुल निर्माण गरिदिनेछ जसबाट नयाँ उत्तरी नाका सञ्चालनमा आउनेछ। सम्झौतापत्र मंगलबार संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ।
तेल व्यापार गर्न तयार
नेपाल र चीनबीच बहुप्रतीक्षित इन्धन व्यापार सम्झौता हुन नसके पनि प्रधानमन्त्री लीले नेपालसँग तेल व्यापार गर्न चीन तयार रहेको बताएका छन्। चिनियाँ विदेश मन्त्रालयसम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा लीले नेपालसँग ‘पेट्रोलियम व्यापार गर्न तथा तेल र ग्यास उत्खनन र प्रशोधनमा सहयोग गर्न’ चीन तयार रहेको बताएका हुन्।
चीनसँग भएको पारवहन सम्झौताले चीनको बन्दरगाह भएर तेस्रो देशबाट तेल वा अन्य व्यापार गर्न नेपाललाई ढोका खुलेको वार्तामा सहभागी अधिकारीको भनाइ छ। पारवहन सम्झौताले नेलालाई मंगोलियाले जस्तो तेस्रो देशबाट ‘त्रु्कड आयल’ किनेर चीनमा वा आफैं प्रशोधन गरी प्रयोग गर्ने बाटो खोलेको ती अधिकारीले बताए।
यसअघि नेपालले आवश्यकताको एकतिहाइ इन्धन चीनसँगै किन्ने समझदारी गरे पनि सोमबार बेइजिङमा भएको दसबुँदे सम्झौतामा इन्धन व्यापारबारे उल्लेख छैन। नेपाल र चीनबीच तेल व्यापारका लागि भने पूर्वाधार तीव्र बनाउने सहमति भएको र मंगलबार जारी हुने संयुक्त वक्तव्यमा यससम्बन्धी प्रतिबद्धता आउने वार्तामा सहभागी अधिकारीले जनाएका छन्।
तातोपानी नाका खोल्ने
चीनले सकेसम्म चाँडै तातोपानी नाका खोल्ने जनाएको छ। नेपाल र चीनले खासा र तातोपानी क्षेत्रलाई समेटेर सीमापार आर्थिक क्षेत्र निर्माण गर्ने सहमति गरेको टोली सदस्य रवीन्द्र अधिकारीले नागरिकलाई जानकारी दिए। नाका खोल्ने र आर्थिक क्षेत्र निर्माण गर्ने विषय संयुक्त वक्तव्यमा समेटिने पनि जनाइएको छ। चीनले नेपालमा तेल भण्डारण केन्द्र निर्माण गर्न सहयोग गर्ने विषय पनि वक्तव्यमा पर्ने अधिकारीले जनाएका छन्।
प्रधानमन्त्री ओलीले चीन सरकारको सल्लाहकार परिषद् सिपिपिसिसीका अध्यक्ष यु चङसङसँग पनि भेटवार्ता गरेका छन्। साँझ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री ओली र नेपाली प्रतिनिमिण्डलका सदस्य सहभागी भए।
चिनियाँ राष्ट्रपति आउने
चिनियाँ राष्ट्रपति सी जिनपिङले यही वर्ष नेपाल भ्रमण गर्ने जानकारी प्रधानमन्त्री ली खछ्याङले दिएका छन्। प्रधानमन्त्री ओलीसँग सोमबार बिहान ग्रेटहलमा भएको औपचारिक भेटवार्तामा प्रधानमन्त्री लीले यो वर्षको अन्तसम्ममा सी नेपाल आउने बताएको वार्तामा सहभागी अधिकारीले जनाए। सेप्टेम्बर–अक्टोबरमा दिल्लीमा आयोजना हुने आर्थिक रुपमा उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको आठौँ सम्मेलनमा सहभागी हुने क्रममा चिनियाँ राष्ट्रपति सीले भारत, नेपाल र बंगलादेशको भ्रमण गर्ने तयारी बेइजिङले गरिरहेको छ।
प्रधानमन्त्री ली खछ्याङले केरुङबाट काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा नेपाललाई सहयोग गर्न चीन तयार रहेको बताएका छन्। औपचारिक भेटवार्तामा ओलीले चार वर्षभित्र तिब्बतको केरुङ आइपुग्ने रेलमार्ग नेपाल जोड्न तथा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने अर्को रेल लाइन विस्तार गर्न प्रस्ताव राखेपछि लीले चीन त्यसमा तयार रहेको प्रतिबद्धता जनाएका हुन्।
दुई प्रधानमन्त्रीबीच चार वर्षपछि भएको औपचारिक भेटवार्तामा व्यापार विविधीकरण, सीमापार कनेक्टिभिटी तथा पूर्वाधार विकास, ऊर्जा, पर्यटन, अर्थ, शिक्षा तथा संस्कृतिबारे सहकार्य गर्ने छलफल भएको छ।
प्रधानमन्त्री लीले सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रता रक्षाका निम्ति नेपाललाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याधउँदै नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताए। चीनले शान्त र समृद्ध नेपाल हेर्न चाहेको बताउँदै लीले आपसी हितनिम्ति अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा द्विपक्षीय र क्षेत्रीय साझेदारी गर्न चाहेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।
औपचारिक वार्तामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, बेइजिङस्थित नेपाली राजदूत महेश मास्के, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सरकारी अधिकारी र व्यापारिक प्रतिनिधि सहभागी थिए। चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ यी, वाािणज्यमन्त्री गाओ हुचेङ, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलगायत अधिकारी सहभागी थिए।
भेटवार्तापछि चिनियाँ प्रधानमन्त्री लीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा ग्रेटहलमै दिवाभोज आयोजना गरेका थिए। बिहान १० बजे तियानमेन स्क्वायर अगाडि ग्रेटहल प्रांगणमा चिनियाँ प्रधानमन्त्री लीले ‘गार्ड अफ अनर’ सहित प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।

साभारः नागरिक अनलाइन