अतीतका पल (कथा)


                                                                                                                               बिमला कुमारी कठायत

सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो मैले । छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए । उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो । उता उति भने आफ्नो तन्नालाई अँगाल्न सकेकी थिइन । कसरी पाओस् त सुत्न । दिनभरि चर्किलो घाममा लेब्बरी काम गिट्टी, ढुङ्गा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वास प्रश्वासको बिमारी पनि । उनको छोरो ‘आयुस’ पनि बेस्सरी रूँदै थियो । उति खोक्दै फुल्याउँदै थिई । त्यसलाई के भएको थियो कुन्नी थाहा पाउन सकिएन ।

अध्यारो काली रात । आकाशमा जुन ताराहरू टल्किरहेका छन् । उज्यालो हुन लागेको हुन लागेको भान भईरहेको थियो । ठिक त्यही समयमा एउटा आवाजले मलाई ब्युँझाएको थियो । गाउँमा कतै कहाली लाग्दो किसिमले कुकुर भुकिरहेको प्रष्ट आवाज कानमा तरंगित भइरहेको थियो । कुन वेदनामा रोइरहेको थियो स्पष्ट हुने कुरा पनि भएन । मैले आज सम्म यसरी कुकुर रोएको कहिल्यै सुनेको थिइन । कहिले सुनेको थिए कि भनेर गहिरीएर सम्झिने हर प्रयास गरे तर सम्भव भएन ।

रातभरीको तछाड मछाड सँगै विहानी सूर्यको लालिकिरणले मेरो ओछ्यानमा एक्कासी स्पर्श गर्यो । उठ्न मन नलागी नलागी नियमित कामका लागि कठिनताका साथ उठेँ । बाहिर खुबै हल्ला–खल्लाको आवाज कानमा गुञ्जाएमान भइरहेको थियो । मानिसहरुको भिड लागेको थियो, उतिको खलामा । कठै बरीय यो कस्तो अच्चम्म कोहीले भन्दै थिए त कोही अब यसकोे बाँकी केही रहेन भन्ने आवाजले म चकित भए । किन के भयो मेरो मनमा सयौं जिज्ञासाहरु उत्पन्न हुनथाले तर यकिन गर्न भने मैले सकिन ।

सुस्त सुस्त चियाएर हेरेको त अचम्म ! उतिलाई सेतो कपडाले बेरेर सुताइएको दृष्य मेरो नजरमा पर्यो । केशव अत्तालीदै ठूलो ठूलो आवाजमा आमा, आमा भन्दै उतिलाई उठाउने प्रयास गरीरहेको थियो । निश्कलंकित त्यो कोमल आवाज उतिले सुनेकी थिइन । यो दृश्यले मलाई मलिन बनायो । अनायासै मेरा आँखाहरू रसाउन थाले आफसेआफ । सम्हालीन नै कठिन कठिन भयो मलाई । उनको पीडादायी अतीतको झल्झली यादको ओइरो आयो मलाई ।                                                                                                                                 

दुःखी र मेहनती थिई उति । उसले कति सपनाहरू म सँग सजाएकी थिई बारीमा सजीएका फूलहरु जस्तै । उनलाई मेरो खाँचो थियो । उनको जीवनमा दुःख बाहेक अरू केही थिएन । झिस्मीसे मै जुरुक्क उठ्थी । घर, आँगन, खलो सफा गर्थी । घरको दैलो पोत्थी । धारा जान्थि भाँडा माझ्थी, पानी भर्थी अनि बिहानीको खानाको जोहो गर्थी । त्यही सामान्य पेटमा हालेको चारोको भरमा दिनभर दुःखसँग संघर्ष गर्थी । उसले पीडाको भारी बोकेको भएपनि चिन्तित भने हुँदीन थि उ । सधैंजसो बिमारी परिरहन्थी उ । यो जवानीमा उसले भोगे जति दुःख सायद कहिल्यै कसैले पनि भोग्ने अवसर प्राप्त गरेन होला ।

दुब्ली उति दिनभरिको कष्टप्रद क्षणलाई परास्त गरेर जब घर फर्किन्थी मलाई सधैँजसो पढिरहेको देखेर, आफ्ना सबै दुःख बिसाउँदै भन्र्थी, रामु मैले पैसा जम्मा गरिसक्या छु, अब त केशबलाई स्कूल पठाउने बेला पनि भयो होला । फकाएर फुलाएर यसलाई पनि पढ्न सिकाउनु है । दिनभरिको कामले गलेर निद्रा लागिहाल्छ । म कति गरी सकु । लामो स्वास फाल्दै उसले भनी ।

लोग्ने पनि यति बुद्धिमता भएकी उतिलाई दोबाटो छाडेर कहाँ गएको थियो पत्तो थिएन । अनेकौं वाचा–कसमहरू खाएर, सपनाहरुको राम राज्य फलाकेर जालमा पारेको थियो उसले उतिलाई । लैला–मजनु, मुना–मदन जस्ताको आदर्श प्रेमलाई छविकरण गर्दै सँगै मर्ने, सँगै बाँच्ने, संसारको उत्कृष्ट प्रेम जोडी साबित गर्ने कसम खाएको थियो उसले । ति वाचा–कसमहरूलाई बिर्सिएर अदृश्य भएको थियो उ । उतिको माया भन्दा टाढा टाढा ।

उतिले आफ्नो लोग्नेलाई नखोजेको पनि होइन । उसको खोजीमा उसले के पो बाँकी राखी र । आफन्त, इष्टमित्रको सहयोग सँगै प्रहरी, प्रशासन सबैमा चहारे पनि उ सफल भने हुन सकिन । लोग्ने खोज्ने अभियानमा पनि असफल भई उति ।

उसले आफूभन्दा बढी माया गरेकी थिई लोग्नेलाई । उसको प्रेमका लागि उतिले आफ्ना आमाबुवा, नातागोता, पढाई, मित्रजन सबैलाई त्यागेकी थिई । तर सबै कुरा त्याग गर्ने उतिलाई विनाकारण नै त्यागेको थियो उसको लोग्नेले । त्याग्नुको पनि त कुनै कारण हुनुपर्ने । कारण बिना त्याग्न पनि कसरी सक्यो होला उसले पत्निलाई । यति हुँदाहँदै पनि महान छिन् उति, छलकपटमा डुबेको संसारलाई चुनौती दिदैँ अन्ततः उनले आफ्नो नासोलाई जन्म दिने नै वाचा गरिन् ।

रामु दाजु ! आमालाई के भयो ? किन आँगनमा सुत्नु भो अहिले ? रातभरी पनि सुत्नु भएको हो त ? यो अबोध प्रश्नले म आफैँ भस्किएँ । के भनु के नभनु दोधारमा उभिन बाध्य भएँ । मैले त्यस बालकलाई कसरी ‘तेरो आमा मरि’ भनुँ । ‘तेरो आमाले तलाई यो संसारमा एक्लै छोडेर गई’ कसरी भनुँ । म नाजवाफ भएँ । ऊ सधैँ मेरो घरमा आउथ्यो र भन्ने गथ्र्योे, दाजु म पनि ठूलो भएर, तपाई जस्तै कम्प्यूटर चलाउँछु, मोबाइल खेलाउँछु, धेरै पढ्छु, जागीर खान्छु, टन्न रुपियाँ कमाउँछु र आमालाई पाल्छु । उसको यति सुन्दर सपनाको संसार देखेर म उ प्रति गौरबान्दित हुन्थेंँ । कारण थियो उसको त्यो सपनामा आफ्नो आमालाई छुट्टाएको थिएन, उसले आफ्नो आमाको दुःख देखेको थियो । त्यो दुःखको आफूले पूर्ति गर्ने सुन्दर योजना थियो उसँग । तर आज ति सपनाहरू सबै चकनाचूर भएकाछन् शिसा फुटेसरी । उसका ती सपनाहरू भताभुङ्ग र लथालिंग भएकाछन् । साँचो कुरा भन्दा उतिले उसलाई टुहुरो बनाएर गएकी थिई । उसको सपनालाई तोडेर गएकी थिई, फेरी कहिल्यै नफर्किने गरी ।
    नरहरीनाथ गाउँपालिका १, कालीकोट