मदिरा बिहिन पलाँता अभियान जारी


असोज १८, कालीकोट ।

कालीकोट जिल्लाको पलाँता गाउँपालिका मदिरा मुक्त अभियान सफल पार्न युद्ध स्तरमा खटिएको छ । मदिरा बनाउन, बिक्रि बितरण गर्न र यसको प्रयोग नगर्न पटक पटक गरिएको आग्रहको अक्षरस पालना नगरिएपछि युद्ध स्तरमै मुक्त अभियान सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बम र पदाधिकारी, निर्माण कार्यदलका पदाधिकारी सहितको टोलीले गाउँगाउँ र घरघरमा गएर स्थानिय उत्पादन र पसलमा राखिएको अन्य मदिरा जफत गर्दै खन्याउदै गर्ने कार्यले दैनिक दिन तिब्रता पाइरहेको छ । घरायसी पदार्थबाट मदिरा बनाउन प्रयोग गरिने भाँडा समेत जफत गरिएको छ ।

मदिराका कारण शान्ति सुरक्षा, अमन चयन तथा आपसमा झै झगडाको बिउ रोपीने हुँदा मदिरा बिहिन पालिका निर्माणका लागि सिंगो टिम लागि परेको र स्थानीयहरुले यो अभियानमा साथ दिएको अध्यक्ष बमको भनाइछ ।

केही मानिसहरुले अटेर गरिरहेका छन्, शिक्षकहरु पनि मदिरा बिक्रि बितरणमा लागेको पाउँदा अच्चम्म लाग्यो अध्यक्ष बमले भने शान्त र समृद्ध पालिका निर्माणको अभियानमा सबैले साथ दिएकाछन्, हामी गन्तब्यमा अबस्य पुग्छौं ।

पलाँता गाउँपालिका दैनिकजसो अनुगमन गर्ने र मदिरा नियन्त्रण गर्ने अभियानले निरन्तरता पाइरहेको छ ।