जनताको सेवा गर्न कार्यकर्तालाई काँग्रेस नेता शाहीको निर्देशन



पुनम बि.सी.

१२ मंसीर, सुर्खेत ।
कर्णाली प्रदेश सभाका सदस्य तथा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जनताको सेवा गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा भ्रमणमा क्रममा नेता शाहीले काँग्रेस कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

आज (बुधबार) कालिकोट खाँडाचक्र नगरपालिकामा काँग्रेस कार्यकर्तासँगको भेटमा नेता शाहीले जनताको सेवा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुस्’, ‘लोकतन्त्रमा सरकार भनेकै जनता हुन् । कुनैपनि आफु आवद्व संघसंस्था तथा आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा समर्पित हुनुस् ।’ कर्णालीको विकासको लागि एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

नेता शाहीले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सदैव अग्रसर हुने बताउदै पार्टी आवद्ध कार्यकर्ताहरुलाई संगठन बलियो बनाउनका लागि क्रियाशिलतामा थप प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । संगठन निर्माणमा स्थानीय कार्यकर्ताहरुको प्रभावकारी भुमिका रहने धारणा व्यक्त गर्दै स्थानीय कार्यकर्ताको जागरुपताले पार्टी बलियो बन्ने उहाँलेको धारणा थियो ।

स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा साविकको दह गा.वि.स.का सभापती भक्त बहादुर शाही, सुर्खेत काँग्रेसका सचिव टोपबहादुर रावल, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, सुर्खेत क्षेत्र नं. ३ का क्षेत्रीय सभापती लालविर भण्डारी, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी, दैलेखका काँग्रेस नेता प्रेम प्रकाश शाही, प्रेस युनियनका नेता सुशीलराज शर्मा लगायतको उपस्थिती रहेको नेपाल तरुण दल बराहतालका अध्यक्ष लोकेश आरसीले जानकारी दिनुभयो ।