कर्णाली पर्यटन वोर्ड चाँडै गठन गर्न सुझाव


मंसिर २६, सुर्खेत ।

प्रत्येक प्रदेशमा गठन हुन पर्ने प्रदेश पर्यटन वोर्ड गठनका लागि कर्णाली प्रदेशले ढिलाई गर्न नहुने सरोकारवालाले सुझाव दिन थालेका छन् । यसअघि केन्द्र पर्यटन मन्त्रालयबाट गठित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति निष्क्रिय र अधिकारबिहीन अवस्थामा पुगेको भन्दै नयाँ व्यवस्था अनुसार छुट्टै वोर्ड गठनका लागि सुझाव आएका हुन् ।

यसअघिको वोर्ड साविकका कर्णाली अञ्चलका जिल्ला मात्रै समेटेर गठन गरिएको र त्यस मार्फत प्रदेश संरचना कार्यान्वयनमा नआउँदा सम्म मात्रै प्रभावकारी ढंगले काम सञ्चालन हुन पाएको उक्त वोर्डका संस्थापक सदस्य चित्रसिंह गाउँलेले जानकारी गराउनु भयो ।

देशभरका पर्यटकीय क्षेत्रको पर्यटन विकासका लागि यसअघि माधवकुमार नेपालको नेतृत्वमा सरकार सञ्चालन हुँदा त्यस्ता वोर्ड गठन भएको भन्दै अब प्रत्येक प्रदेशमा प्रदेश स्तरीय अधिकार सम्पन्न वोर्ड गठन आवश्यक रहेको गाउँलेको भनाई छ । नयाँ गठन हुने वोर्ड प्रदेश सरकारलाई पर्यटन विकासको नीति, योजना निर्माण तथा कार्यान्वयनमा मुख्य सहयोगी निकाय बन्न सक्ने उहाँको विश्वास छ । रारा, फेवा, पचालझरना, काँक्रेविहार, पञ्चकोशी लगाएतका महत्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका साथै प्रचार प्रसारको विषय ओझेल परिरहेको अवस्थामा विज्ञता सहितको वोर्ड गठन गरिनु उचित रहेको पर्यटन पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष अशोककुमार सिंहको सुझाव छ ।

बोर्ड गठनमा प्रदेश सरकारले के गरीरहेको भन्ने जिज्ञासामा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले सबै प्रक्रियाहरु पुरा भइसकेको भन्दै केही दिनमा बोर्ड गठन गरि काम सुचारु हुने बताउनुभयो ।