बैतडीबाट १३० खेलाडी छनोट


६ पुस, बैतडी । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको लागि बैतडीबाट १३० जना खेलाडी छनोट भएका छन् ।

विभिन्न १० खेलका लागि १३० जना खेलाडीलाई छनोट गरिएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । पुरुष फुटबलमा १६, एथ्लेटिक्समा पुरुष छ र महिला चार, टेबलटेनिसमा दुई पुरुष र दुई महिला, भलिबलमा पुरुष १० र महिला १० , कबड्डीमा १० पुरुष र १० महिला, तेक्वाण्डोमा छ पुरुष र छ महिला खेलाडी छनोट भएका हुन् ।

यस्तै ब्याट्मिण्टनमा चार पुरुष र तीन महिला, करातेमा आठ पुरुष र तीन महिला, क्रिकेटमा १४ पुरुष र १४ महिला तथा बुद्धिचालमा एक पुरुष र एक महिला खेलाडी छनोट भएका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरको प्रतियोगिताको छनौटमा सहभागी हुन पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशस्तरको छनोट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि हुने बताइएको छ । उक्त प्रतियोगिता प्रदेश नं ५ मा आगामी माघ २५ देखि फागुन ३ गतेसम्म हुँदैछ ।  (रासस)