उजाड खाडाको पुननिर्माण हुन्छ त ?


कालीकोट जिल्लाकै सुख्खा क्षेत्रका रुपमा चिनिने पलाँता गाउँपालिका । यहाँका स्थानियवासीहरु आकाशे पानीको भरमा ज्यून बाध्य । सदियौं देखि पलाँतालाई हेयका दृष्टिले हेर्न गर्यो, कालीकोट जिल्लाको केन्द्रले पनि । मूलुक संघिय संरचनामा प्रवेश गरेसँगै सम्पन्न स्थानिय निकायको निर्बाचनले त्यही भूगोलमा लडीबुडि गरेको र त्यहाँको वास्तविक समस्यासँग पौंठेजोरी खेल्दै हुर्केको नेतृत्व पायो ।

स्थानिय निर्बाचन सम्पन्न भएसँगै पलाँता गाउँपालिकाले तिब्रगतिमा विकासका कामहरु सञ्चालन गरीरहेको बिभिन्न सञ्चार माध्यमहरुले खबरहरु दैनिक जसो सार्बजनिक गरिरहेका छन् । बिशेषत निर्माण कार्यदलको गठन गरि बेरोजगार यूवाहरुलाई रोजगार दिने र विकासको ढोका खोल्ने पनि काम गर्यो पलाँताले । यो क्रमले निरन्तरता पाइरहेका बेला आइतबार राती मात्रै पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागि भयो र पुरै गाउँ नै ध्वस्त बन्यो ।

आगलागिका कारण खुल्न नसके पनि दृष्य हेर्दा मात्रै पनि मन चसक्क मात्रै बनाएन, आगलागिबाट पीडितहरुको अबस्था कस्तो होला सहजै अनुमान गर्न घोत्लिएर सोच्न बाध्य बनायो । सोचेर कल्पेर मात्रै पनि केही नहुने रहेछ, न त पीडितको घाउमा मलमपट्टि नै लगाउन सकिदो रहेछ । मन भएर मात्रै केही नहुने रहेछ । जो सँग जे छ त्यसले प्रभावकारी कार्य नसके पछि पीडितहरुको पीडा मन थप पोलीरहने रहेछ भने केही नहुने तर केही गर्ने पबित्र मन भएकालाई थप चिन्तित बनाउँदो रहेछ ।

आइतबार राती आगलागि भएको खबर सबैले थाहा पाए । हेलिकोप्टरको सुबिधा बाहेक तत्काल त्यहाँ पुग्ने सम्भावना कुनै पनि छैन यो सत्य हो । तर आगलागीका कारण गाउँ पुरै ध्वस्त हुँदा पनि राज्य आनन्दसँग निदाई रह्यो । यदि खाडाको पीडाले छोएको भए तत्काल युद्धकालमा रातारात हवाई गस्ति गर्ने नाइटभिजनको प्रयोग सरकारले गर्न सक्दैनथ्यो ? खाडाको पीडा पलाँतावासीका लागि मात्रै हो ? यदि यो पीडामा साँच्चै सरकारको पीडा मिसिएको भए त्यहाँ आगो निभाउन पानीको त अप्रयाप्तता नै छ तर सोमबार बिहान सम्म पुगेर पीडितलाई सान्त्वना दिन सकिदैनथ्यो ? सरकारले केही गरेन भन्ने पक्का होइन तर जे जति गर्नु पथ्र्यो त्यो समायमा भएन भन्ने मात्रै हो ।

यदि भोली पल्ट मात्रै हेलीकोप्टरमा आबस्यक भन्दा बढि मानिसहरुको हुल खाडामा पुग्नको लागि हेलीकोप्टर रिजर्भ गरेर जानुको सट्टा आइतबार बिहानै ट्रकका ट्रक राहत सामाग्रीहरु पठाएको भए सोमबार नै खाडा पुग्थ्यो र हेलीकोप्टर रिजर्भको रकमले पीडित प्रतिपरिवारलाई न्यूनतम् चार चार थान कम्मल बढि उपलब्ध गराउन सकिन्थ्यो ?

प्रदेश सरकारले तत्कालका लागि प्रतिपरिवार २० हजार नगद दिने निर्णय गर्यो सो रकम र सामाग्री लिएर एकजना मुख्यमन्त्री मात्रै गएर बितरण गरे हुँदैनथ्यो, आबस्यक भन्दा बढि हुल लीएर खाडावासीको आँसुमा मुस्काउँदै सेल्फि फोटो खिचाउने बाताबरण नगर्दा नै राम्रो हुन्थ्यो कि ? हेलीकोप्टर रिजर्भ गरेर जाने र राहत बितरण गर्ने भए तत्काल पुग्नु पर्ने हो, नत्र अन्य सवारीका साधन पुग्न सक्ने समयमा किन त्यतिका खर्च जम्बो टोलीको लागि ? त्यो रकमले पनि राहत सामाग्री खरिद गरेको भए एउटा बिद्यालयमा चिसोमा कठ्यांग्रीनु पर्दैन थ्यो होला खाडाका पीडितले ।

आगलागी भएसँगै संघिय सरकार, प्रदेश सरकार, जिल्ला र जिल्लाबाहीरका स्थानिय निकायहरु, सामाजिक संघसंस्थाहरु, केही अभियान्ताहरुले तत्कालका लागि सहयोग रकम घोषणा गरी पीडितको घाउमा मलम पट्टी लगाउने काम गर्नु महत्वपूर्ण र मानविय ब्यबहारको सहि प्रयोग मान्नै पर्छ । यस्ता घटनाहरु सँधै हुँदैनन्, ति अप्रत्यासित रुपमा हुने हुँदा केही सतर्कता अपनाउनु एकातिर जरुरी छ भने यस्ता घटनाहरुबाट पीडितहरुलाई थप पीडा महशुस गराउने क्रियाकलापहरुबाट टाढै रहन जरुरी छ । अन्तत हाल सम्म भएका सहयोग र अझै खाडावासीका लागि बिभिन्न स्थानमा मागीदै गरेको सहयोगले खाडावासीलाई मद्यत पुगोस् भन्ने कामना सँगै उजाड बनेको खाडा बस्तिलाई पुननिर्माण तर्फ तत्काल ध्यान जाओस् । उजाड बनेको खाडाबस्ति कहिले सम्म पुननिर्माण हुन्छ ? प्रतिक्षा बाँकी नै छ ।