एनएमवी बैंकद्वारा आफ्ना उद्यमीहरुलाई वित्तिय साक्षर बनाउँदै


माघ १८, सुर्खेत ।
एनएमवी बैंकले कर्णालीका लघु घरेलु तथा साना उद्यमीलाई वित्तिय साक्षर बनाउने अभियान शुरु गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सहकार्य गरेर लघु घरेलु तथा साना उद्यमीको आर्थिक उर्पाजनमा बृद्धिसँगै रोजागरी सृजना गर्ने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्यमीहरुलाई लक्षित गरि विहीबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । एनएमबी बैंकका कर्णाली प्रदेश प्रबन्धक उज्जवल रिजालले साना मझौला उद्यमीहरु अहिले पनि बैंकको कारोबारमा अत्यन्त न्यून संलग्नता रहेको पाएको बताए । उनले आम उद्यमीहरुको बैंकसम्म सहज पहुँचका लागि वित्तिय साक्षरता जरुरी रहेको जनाए ।

‘सुर्खेतमा आफ्ना बैंकका शाखाहरु मार्फत नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बैंकले छिट्टै लघु घरेलु तथा साना उद्यमीसँगै अन्य व्यवसायीलाई समेत वित्तिय साक्षरता अभियानमा समेट्ने छ ।’ उनले वित्तिय साक्षरता अभियान मार्फत महिलाहरुको पहुँच बैंकसम्म बिस्तार गर्ने लक्ष्य रहेको जनाए । उनका अनुसार बैंकले महिलाहरुलाई योजना हेरेर सहजरुपमा ४ देखि १० लाख रुपैयाँ उपलब्ध गराई राखेको छ । वित्तिय साक्षरता अभियानले लघु घरेलु तथा साना उद्यमीलाई रोजगार दिलाउने र आर्थिकरुपमा सक्षम बनाउने अपेक्षा रहेको उनको भनाई थियो ।

सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतले बैंकहरु नाफामुखी मात्र नभएर जनमुखी समेत हुनुपर्ने बेला आएको बताए । उनले बैंकका सकारात्मक कार्यमा आफूहरुको सधै साथ रहने जनाए । आर्थिक इमान्दारिता र अनुशासन नहुनेको जमात ठूलो बन्दै गएको भन्दै यसमा सजग रहन समेत उनले आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले लघु घरेलु तथा साना उद्यमीहरुको आर्थिक क्षेत्रमा पहुँच अत्यन्त न्यून रहेको बताए । उनले जबसम्म लघु घरेलु तथा साना उद्यमीहरुको आत्मनिर्भर बन्दैनन् र समान आर्थिक पहँुचको अवस्था आउँदैन तबसम्म समाजपछि नै पर्ने जनाए । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत ईन्द्रबहादुर थापाले लघु घरेलु तथा साना उद्यमीहरुको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताको क्षेत्रमा ठोस कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । उनले सर्वसाधारणको पहुँच पुग्नेगरि बैंकहरुले यसतर्फ ध्यान दिन आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले वित्तीय गतिविधिका बारेमा जानकार नहुँदा लघु घरेलु तथा साना उद्यमको पुँजी बैंकसम्म पुग्न नसकेको जिकिर गरे । उनले वित्तिय साक्षरताको सुरुवात घरघरबाट हुनु जरुरी रहेको बताए । उनका अनुसार पैसा कमाउने, व्यवस्थापन गर्ने र खर्च गर्ने कुराको ज्ञान हरेक सर्वसाधारणमा हुनु जरुरी छ ।