विपद् ब्यवस्थापन तथा जलवायु परिर्वतन सम्बन्धी पहिलो पटक कचहरी



१३ जेठ,कालिकोट

मनिराज पाण्डे,

खानेपानी अभाव हुने, गहुँवाली ढिलो पाक्ने, पानी नपर्ने, आगलागी र महामारी हुने जस्ता विभिद समस्याका कारण कालिकोटको पलाँतामा कचहरी बसेको छ । विपद् ब्यवस्थापन तथा जलवायु परिर्वतन सम्बन्धी कालिकोटमा पहिलो पटक कचहरी बसेको हो ।

स्थानीय जानकार, जनप्रतिनिधि, कृषक लगायतको सहभागीतामा बसेको कचहरीले ९ बुँदे प्रतिबद्धता जारी गरेको छ । मौषम परिर्वतनका कारण स्थानीय बालीनाली उत्पादनमा समस्या देखिएकाले पलाँता कचहरी आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो  ।

विपद् ब्यवस्थापन तथा जलवायु परिर्वतन सम्बन्धी देखिएका समस्या, समाधानका उपाय र बेहोर्नु पर्ने आर्थिक व्ययभारका बिषयमा कचहरी बसेको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनु भयो  ।

सबैका भनाइ र भोगाइहरु एकै थलोमा ल्याइ समस्याको समाधान खोज्न कचहरी महत्वपुर्ण भएको पलाँताका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।

गाउँमा झै झगडा हुँदा बाजेका पालामा बस्ने गरेको पन्चे कचहरी अहिले स्थानीय समस्या समाधानका लागि बस्ने गरेकाले कचहरीको महत्वपुर्ण भएको वडा नं. ७ का अध्यक्ष बर्जबहादुर बमले बताउनु भयो ।

विपद् तथा जलबायुको बिषयलाइ नेपाल सरकारले उच्च प्रथमिकतामा राखेकाले स्थानीय तह सम्म यस बारे सचेतना फैलाउन जरुरी रहेको हिमाली क्षेत्रका स्थानीय बिकासलाइ उत्थानशीलमा जोड परियोजनाको परियोजना संयोजक विजय विश्वकर्माले बताउनु भयो ।

कार्यक्रम किर्डाक नेपालको सहजिकरणमा पलाँता गाउँपालिकाले आयोजना गरेको हो ।

कचहरीले गरेका ९ प्रतिबद्धता के छ ?

१. समावेशी विपद् ब्यवस्थापन समिति गापा तथा वडा स्तरमा गठन गरी नियमित बैठक बस्ने ब्यवस्था गर्न हामी प्रतिबद्ध छौं ।
२. विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयन गर्न गराउन तयारी छौं ।
३. विपद् कोषको स्थापना तथा ब्यवस्थापन गरी संचालन गर्न प्रतिबद्ध छौं ।
४. आकास्मिक उद्दार कक्ष निर्माण तथा स्थापना गर्न प्रतिबद्ध छौं ।
५. स्थानीय विपद् ब्यवस्थापन योजना निर्माण तथा कार्यान्वय गर्न गराउन प्रतिबद्ध छौं ।
६. विपद् ब्यवस्थापन तथा जलवायु सम्बन्धी कम्तीमा महिनामा २ पटक कचहरी संचालन गरी आवश्यक बजेट बिनियोजन गर्न प्रतिबद्ध छौं ।
७. विपद् ब्यवस्थापन तथा जलवायु परिर्वतन सम्बन्धी बस्ती स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै पुर्व सूचना प्रणाली संचालन गर्न प्रतिबद्ध छौं ।
८. गाँउपालिका स्तरमा निर्माण गरिने भौतिक संरचना उत्थानशील तथा भूकम्परहित संरचना निर्माणका लागि हामी प्रतिबद्ध छौं ।
९. स्थानीय विकासका कार्यमा विपद् तथा जलवायुका बिषय लाई मुल प्रवाहीकरण गर्न गराउन प्रतिवद्ध छौं ।