१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवसको उपलक्ष्यमा विज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्नुभएको छ ।
विज्ञप्तीमा मुख्यमन्त्री शाहीले ‘नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका वलीदानीपुर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभावाट २०६५ जेष्ठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।
गणतन्त्र स्थापनाको यस ऐतिहासीक दिनको सम्झनास्वरुप हामी हरेक वर्ष आजको दिनलाई गणतन्त्र दिवसका रुपमा व्यापक हर्षउल्लासका साथ विविध कार्यक्रम गरि मनाउदै आएका छौं । गणतन्त्र दिवस-२०७६ को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र स्थापनाको लागि आफनो ज्यानको आहुती दिने महान सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सवैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
जनआन्दोलन र जनयुद्धको वलमा हामीले प्राप्त गरेका गणतन्त्र, नयाँ संविधान, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक प्रणाली सहितको संघीयता लगायतका उपलव्धिहरूको जगमा तीव्र गतिको आर्थिक, भौतिक तथा सामाजिक विकास गरी सामाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्नु अहिलेको प्राथमिक कार्यभार हो । विज्ञप्तीमा उल्लेख छ ।
Milan Shrestha । १५ जेष्ठ २०७६, बुधबार ०८:१७ बजे