अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन डा. गोविन्द केसीको माग


माग पूरा नभए २६ असारदेखि आमरण अनसन बस्ने घोषणा

१२ असार, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् । उनले योसहित चार बुँदे माग सार्बजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनसनमा बस्ने घोषणा गरे ।

आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख कार्की आफै भ्रष्टाचारमा लिप्त भएको, आसेपासे र भाइ भतिजाले खोलेका मेडिकल कलेजलाई प्रवर्द्धन गर्न जिम्मेवार निकायका सरकारी पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेको आरोप लगाए ।

‘भ्रष्टहरुलाई संरक्षण दिए, कार्यक्षेत्र नाघेर केयूको प्रवेश परीक्षामा हस्तक्षेप गरे । उनलाई तत्काल संसदले महाअभियोगको प्रक्रिया अघि बढाओस् र सम्बन्धित आयुक्तहरुलाई पनि कारबाही अघि बढाओस्,’ केसीले भने ।


डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्न, माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न र आफूसँग विगतमा भएका सहमति सम्झौता पालना गर्न पनि माग गरेका छन् ।

दुई हप्ता भित्र यी मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।