वीरेन्द्रनगर-९ मा भ्यू टावर निर्माणको शिलान्यास


६ साउन, सुर्खेत । पर्यटन प्रवर्धन गर्नकालागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा भ्यू टावर निर्माण गर्न शिलान्यास भएको छ ।

वीरेन्द्रनगरको ऐतिहासिक एवं पर्यटकिय वडामा भ्यू टावरको निर्माण हुनु नै गौरवको विषय भएको र अव अझै पर्यटकको आगमन हुने कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले बताउनुभयो ।

उहाँले भन्नुभयो “यो वडा नं ९ वीरेन्द्रनगर कै ऐतिहासिक एवं पर्यटकिय वडा हो यहाँ नेपालको एकमात्र संरक्षित वन काँक्रेविहार, बौद्ध गुम्वा, शिव मन्दिर, अँधेरी गुफा यही छन् अव काँक्रेविहारको मुख्य बाटोमा नै भ्यू टावर बन्ने भएपछि पर्यटकलाई भित्र्याउन अझ बढी सजिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु त्यस्कालागि सबैले आआफ्नो तह र तप्काबाट सहयोग गर्न जरुरी छ ।’

शिलान्यास कार्यक्रममा कार्यवाहक नगर प्रमुख थम्वप्रसाद गौतमले भ्यू टावर निर्माणकालागि २५ बर्षकालागि जग्गा दिनुहुने विरमा श्रेष्ठलाई सम्मान गर्दै वीरेन्द्रनगरको वीच भाग लाटीकोइलीमा भ्यू टावर निर्माण हुनुले वीरेन्द्रनगरलाई पर्यटकले नियाल्न मद्दत पुग्ने बताउनुभयो ।

५ तले भ्यू टावरको निर्माण लागत १ करोड ३० लाखको रहेको र हाल वडाले ८ लाख रुपैयाबाट निर्माण कार्यको शिलान्यास गरेको छ यस्लाई पूर्णता दिनकालागि स्थानीय सरकार प्रदेश सरकार संघीय सरकार लगाएत सबै संग सहयोग मागेर टावर निर्माण पूरा गरिने ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

अध्यक्ष मानन्धरका अनुसार जग्गाधनीका परिवारका १ जनालाई टावर निर्माण भैसकेपछि रोजगारी दिने सहमतिमा २५ बर्षकालागिनिःशुल्कमा  जग्गा लिइएको हो ।

वडा सचिव देवप्रसाद मुलेलले संचालन गर्नुभएको कार्यक्रममा समाजसेवी डम्मरविक्रम जिसी, ध्रुवकुमार श्रेष्ठ लगाएतले आआफ्नो धारणा राख्नुभएको थियो ।